तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री मोदी साउदी अरेबिया प्रस्थान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार साउदी अरबको जेद्दाहका लागि प्रस्थान गर्नुभएको छ ।

साउदी अरबका युवराज तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा उहाँले अप्रिल २२ देखि २३ सम्म साउदी अरबको भ्रमण गर्नुहुने बताइएको छ ।

सन् २०१४ देखि प्रधानमन्त्री मोदीले साउदी अरब र खाडी मुलुकहरूसँग भारतको सम्बन्धको दिशा परिवर्तन गर्नुभएको छ । सन् २०१६ र २०१९ मा साउदी अरबको भ्रमणपछि यो उहाँको तेस्रो भ्रमण हुनेछ । खाडी क्षेत्रको कुनै मुलुकको उहाँको यो १५औँ भ्रमण पनि हो ।

“आज म साउदी अरबका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको निमन्त्रणामा साउदी राज्यको दुई दिने राजकीय भ्रमणमा प्रस्थान गर्दैछु”, उहाँले प्रस्थानपूर्व विज्ञप्तिमा भन्नुभयो । 

“हालैका वर्षहरूमा रणनीतिक गहिराइ र गति प्राप्त गरेको साउदी अरबसँगको लामो र ऐतिहासिक सम्बन्धलाई भारतले गहिरो महत्त्व दिन्छ”, उहाँले भन्नुभयो, “सँगै, हामीले रक्षा, व्यापार, लगानी, ऊर्जा र जनता–जनता सम्बन्धका क्षेत्रहरू सहित पारस्परिक रूपमा फाइदाजनक र ठोस साझेदारी विकास गरेका छौँ । क्षेत्रीय शान्ति, समृद्धि, सुरक्षा र स्थिरता प्रवद्र्धन गर्न हाम्रो साझा चासो र प्रतिबद्धता छ ।”

साउदी अरबमा जीवन्त भारतीय समुदायसँग सम्पर्क गर्न पनि उत्सुक रहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, “भारतीय समुदायले हाम्रा राष्ट्रहरू बीचको जीवित पुलको रूपमा सेवा गरिरहेको छ र सांस्कृतिक र मानवीय सम्बन्धलाई सुदृढ पार्न अपार योगदान पु¥याइरहेको छ ।”

शनिबार एक विशेष पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्रीले भ्रमणले प्रमुख क्षेत्रीय र विश्वव्यापी मुद्दाहरू छलफल गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो । यसमा पश्चिम एसियाको अवस्था, इजरायल–प्यालेस्टिन द्वन्द्व र हुथी आक्रमणका कारण समुद्री सुरक्षामा खतरा समावेश छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button