तपाईँ सुन्दै हुनुहुन्छः

डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु

बाँके । किसानलाई बीउ वितरण गर्न डुडुवा गाउँपालिकाले बीउ उत्पादन सुरु गरेको छ। 

धानको मूल बीउ उत्पादन गरी पालिकाले एकसय ४२ क्विन्टल उन्नत जातको बीउ प्राविधिकको समूहले ल्याब परीक्षण गरी प्रमाणीकरण गराएर कृषि प्रशोधन केन्द्रमा भण्डारण गरेको कृषि शाखा प्रमुख सुशील कुमार शर्माले बताउनुभयो ।

करिब दुई सय दुई हेक्टर क्षेत्रफललाई बीउ पुग्ने गरी तयार गरिएको हो। डुडुवाले आफ्नै किसानसँग पाँच लाख ६८ हजार रुपैयाँ बराबर १४ मेट्रिक टन धान खरिद गरी उन्नत जातको बीउ प्रशोधन गरेको शाखा प्रमुख शर्माले बताउनुभयो ।

धानको बेर्ना लगाउने याममा पालिकाले किसानलाई बीउ वितरण गर्ने प्रमुख प्रशासकीय अधिकृत अशोककुमार पाण्डेयले बताउनुभयो। 

दुई सय ४० क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य लिइएकाले किसानका मागका आधारमा थप वृद्धि गर्दै जाने कृषि शाखा प्रमुख शर्माले जानकारी दिनुभयो। अहिले गहुँ भित्र्याउने समय रहेकाले अब केही दिनभित्रै गहुँ खरिद गरी ल्याब परीक्षणको प्रक्रिया अघि बढाइने शर्माको भनाई छ।

डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो। पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पुर्‍याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको चौधरीले दाबी गर्नुभयो ।

बीउमा आत्मनिर्भर बनाउने रणनीति अनुसार बीउ भण्डारण तथा प्रशोधनका लागि अत्याधुनिक प्रशोधन प्लान्ट जडान गरी सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ । बीउ उत्पादनलाई प्रशोधन र बजारीकरणका लागि डुडुवा २ स्थित सातसय मेट्रिक टन क्षमताको भण्डारण केन्द्र स्थापना गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button