वैशाख २० गते भक्तपुरमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने
भक्तपुर । नेपाली साङ्गीतिक जगतका एक कालजयी नाम, वरिष्ठ गायक एवं सङ्गीतकार दीप श्रेष्ठको एकल प्रस्तुतिमा साङ्गीतिक साँझ भक्तपुरमा पहिलोपटक आयोजना हुने भएको छ ।

भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा कार्यक्रम २०८२ वैशाख २० गते, शनिवार इम्पेरियल बैंक्वेट, सल्लाघारी भक्तपुरमा हुने तय भएको आयोजकले जानकारी दिएका छन् ।
नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरिने यस कार्यक्रममार्फत वरिष्ठ गायक दीप श्रेष्ठले आफ्ना कालजयी र मन छुने गीतहरू प्रत्यक्ष रूपमा प्रस्तुत गर्नुहुनेछ । कार्यक्रममा उहाँबाट १२ देखि १५ वटा लोकप्रिय गीतहरू लाई लाइभ म्युजिक ब्यान्डको साथमा प्रस्तुत गरिने भक्तपुर साङ्गीतिक समाजका अध्यक्ष अल्वर्ट बज्राचार्यले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै गायक तथा सङ्गीतकार दीप श्रेष्ठले सङ्गीतमा आधुनिकीकरण बढिरहेको र ट्र्याकमा गाउने कुरा गायकहरूका लागि राम्रो नभएको बताउनुभयो । उहाँले समसामयिक गीतहरू लोप हुन थालेकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।
करिब १००० देखि १२०० सहभागीको उपस्थिति रहने अपेक्षा गरिएको कार्यक्रममा प्रवेशका लागि टिकट दर रु. १०००, १५०० र २५०० निर्धारण गरिएको बज्राचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार कार्यक्रम स्थलमा स्थानीय उत्पादन, परिकारका स्टलहरू पनि उपलब्ध हुनेछन् ।
प्रतिक्रिया राख्नुहोस्