तपाईँ सुन्दै हुनुहुन्छः

राझा–राजापुर सडकखण्डको शिलान्यास : लुम्बिनी प्रदेशको ‘पर्यटन लोकमार्ग’ निर्माणको थालनी

बाँके । बाँकेको राझा विमानस्थलदेखि बर्दियाको राजापुरसम्म जोडिने राझा–राजापुर सडकखण्डको शिलान्यास गरिएको छ।

लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा रहेको यस सडकलाई महेन्द्र राजमार्ग र हुलाकी राजमार्गको वैकल्पिक ‘पर्यटन लोकमार्ग’का रूपमा विकास गर्ने योजना छ।

लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य धर्मबहादुर चौधरीले एक विशेष कार्यक्रमका बीच आज उक्त सडकको शिलान्यास गर्नुभयो। 

सो अवसरमा उहाँले गुरुवा गाउँ हुँदै बैजनाथ, बर्दियाको बढैयाताल, कृष्णसार संरक्षण क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्ज छिचोल्दै राजापुर जोड्ने यो सडकले बाँके–बर्दियाको पर्यटन विकासमा महत्वपूर्ण योगदान दिने बताउनुभयो।

सडकको पहिलो चरणमा बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा ४ किलोमिटर सडक कालोपत्रे गरिनेछ । जसको लागत करिब ८ करोड २७ लाख रुपैयाँ रहेको छ।  राझा–राजापुर सडक निर्माण कार्यको जिम्मा कोहलपुरस्थित निर्माण व्यवसायी कम्पनी ‘रोयल सक्षम जेभी’ले लिएको छ। 

सडकको चौडाइ ५.५ मिटर रहने सडक पूर्वाधार विकास कार्यालय बर्दियाका प्रमुख गोविन्द बहादुर महतराले जानकारी दिनुभयो। 

यो सडकखण्डलाई राझा–राजापुर भनिए पनि, यसले सिधै कैलालीको टिकापुर क्षेत्रसँग पनि जोडिने सम्भावना रहेको छ। कर्णाली नदीको सन्कटीघाटमा निर्माणाधीन पक्की पुल सम्पन्न भएपछि यो मार्ग झनै प्रभावकारी हुने र पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।

लुम्बिनी प्रदेश सरकारले यस सडकलाई ‘पर्यटन लोकमार्ग’का रूपमा विकास गर्ने प्राथमिकतामा राखेको छ, जसले स्थानीय विकाससँगै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button