तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा नवीकरणीय ऊर्जा उत्पादनबारे छलफल

बाँके । नरैनापुर गाउँपालिकामा नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे भारतीय लगानीकर्तासँग छलफल गरिएको छ । 

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भारतीय लगानीकर्तासहित सरोकार भएका निकायसँग छलफल भइरहेको बताउनुभयो । “नवीकरणीय ऊर्जा उत्पादनको सम्भावनाबारे लगानीकर्तासँग छलफल भइरहे पनि हालसम्म निष्कर्षमा भने पुगेका छैनौँ”, उहाँले भन्नुभयो । 

स्थानीय तहले एकीकृत रूपमा जग्गा उपयोग गरी नयाँ परियोजना कार्यान्वयनमार्फत आम्दानीको स्रोत बढाउने उद्देश्यले भारतीय लगानीकर्तासँग सहकार्य गर्न खोजिएको उहाँले उल्लेख गर्नुभयो । नरैनापुर–२ र ४ मा जग्गाको व्यवस्थापन गर्न सकिने जनाउँदै अध्यक्ष शाहले लगानी गरेपछि त्यसको परिणाम आउने गरी काम गरिने जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेशसभाका सांसद कृष्ण केसी, खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली, सौर्य ऊर्जाका विज्ञ भरत विश्वकर्मालगायतको सहभागितामा भारतीय लगानीकर्तासँग नयाँ परियोजना कार्यान्वयनका सम्बन्धमा छलफल गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ । 

नरैनापुरसहित बाँकेलाई आधार बनाएर सोलार प्रणालीबाट सौर्य ऊर्जा उत्पादन गर्न करिब रु ७० करोड लगानी लाग्ने भन्दै उक्त लगानी गर्न इच्छुक रहेको भारतीय लगानीकर्ता रोहनराज हेडजेले बताउनुभयो । सरकारीस्तरबाट सहज रूपमा समन्वय भए निकट भविष्यमा नरैनापुरबाट सौर्य ऊर्जा उत्पादन गरी योगदान दिने उहाँले उल्लेख गर्नुभयो । उक्त परियोजनामार्फत सुरुमा १० मेगावाटका दरले वार्षिक एक करोड ७६ लाख १० हजार युनिट बिजुली उत्पादन गरी सिधैँ ग्रिडमा जोड्ने योजना रहेको हेडजेले जानकारी दिनुभयो । 

नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ अनुसार व्यावसायिक प्रयोजनमा एक हजार ५०० पिकवाट क्षमताभन्दा बढी र घरायसी प्रयोजनमा पाँच सय पिकवाट क्षमताभन्दा बढीका सौर्य ऊर्जा प्रणाली जडान गर्न पाँचवर्षे मासिक किस्तामा बैङ्क ऋण पाइने सुविधा छ । यसरी ऋण लिँदा व्यावसायिक प्रयोजनमा ब्याजको ५० प्रतिशत र घरायसी प्रयोजनमा ब्याजको ७५ प्रतिशत रकम अनुदानस्वरूप बैङ्कमार्फत उपलब्ध गराउनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button