तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुर आन्तरिक राजस्व कार्यालयद्वारा नौ महिनामा झण्डै दुई अर्ब राजस्व संकलन

दाङ। आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु आर्थिक वर्षको नौ महिनामा झण्डै दुई अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले चैत मसान्तसम्म एक अर्ब ९३ करोड ३९ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो, जुन वार्षिक लक्ष्यको ८५.०५ प्रतिशत हो।

गत वर्षको सोही अवधिमा ७५.६५ प्रतिशत राजस्व संकलन भएकोमा यस वर्ष ९.४ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ। चालु वर्षको सो अवधिमा दुई अर्ब २७ करोड ३९ लाख ७९ हजार रुपैयाँ लक्ष्य तोकिएको थियो।

कार्यालय प्रमुख श्रीधर टण्डनका अनुसार आयकरबाट एक अर्ब दुई करोड ७९ लाख रुपैयाँ, मोहकरबाट ५४ करोड १५ लाख रुपैयाँ, आन्तरिक अन्तरशुल्क करबाट ३१ करोड २१ लाख रुपैयाँ, व्याजदर करबाट तीन करोड ३० लाख रुपैयाँ, बहाल करबाट १९ लाख रुपैयाँ र अन्य स्रोतबाट २० हजार रुपैयाँ संकलन भएको हो।

हाल कार्यालयमा ४५ प्रतिशत करदाताले समयमै कर नबुझाउने अवस्था रहेको र लक्ष्य प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू अघि बढाइएको टण्डनले जानकारी दिनुभयो।

तुलसीपुर कार्यालयअन्तर्गत दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र प्यूठान जिल्ला पर्दछन्। त्यहाँ एक लाख १६ हजार ७१९ जनाले स्थायी लेखा नम्बर लिएका छन् भने ४२ हजार ५७० जना करदाताले व्यवसायीक कारोबार गरिरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button