तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल बारमा नयाँ नेतृत्वलाई पदभार हस्तान्तरण

काठमाडौँ । नेपाल बार एसोसिएसनमा प्रा डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । बार एसोसिएसनद्वारा आज यहाँ आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्य समितिलाई पदभार हस्तान्तरण गरेको हो ।

बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबिच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनले बारमा २५ जना नयाँ कार्यसमिति चयन गरेको हो ।

पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट मुक्त तुल्याउने, वकिलहरूको पेसागत हकहितका लागि आवाज उठाउने साझा र बलियो संस्थाका रूपमा अघि बढाउने अभियानमा साथ सहयोगको अपेक्षा गर्नुभयो ।

अध्यक्षका प्रत्याशी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रत्यक्ष असर पर्न नहुने धारणा राख्नुभयो । उहाँले बारका निर्णय तथा गतिविधिमा राजनीतिक दल र सरकारको प्रभाव परेमा वा त्यस प्रकारका गतिविधि भएमा स्वीकार्य नहुने बताउनुभयो । 

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताले पुर्खाले आर्जेको प्रतिष्ठा र एकताको भावसहित निष्पक्ष वातावरणमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button