तपाईँ सुन्दै हुनुहुन्छः

विविध भाषा, धर्म र संस्कृति नै हाम्रो पहिचान : मन्त्री लेखक

पोखरा । गृहमन्त्री रमेश लेखकले विविध भाषा, धर्म र संस्कृति नै हाम्रो पहिचान भएको बताउनुभएको छ ।   

पोखरा महानगरपालिका–३२, स्थित रुपाताल तमु (गुरुङ) समुदायको २५ औँ वार्षिकोत्सव, शिलालेख अनावरण एवं रजत जयन्ती कार्यक्रममा मन्त्री लेखकले नेपालको सबैभन्दा ठूलो सम्पत्ति र विशेषता नै विविध भाषा, धर्म र संस्कृति भएको बताउनुभयो ।

उहाँले देशलाई एकताबद्ध गराउनमा तमु समुदायको विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो । फरक भाषा, धर्म, संस्कृति र सभ्यताहरूलाई समान सम्मान गर्नु नै हाम्रो कर्तव्य रहेको उहाँको भनाइ थियो 

। 

कार्यक्रममा गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले सुन्दर नेपालको पहिचान र संस्कार दिएका गुरुङ समुदायले जातीय सहिष्णुता, भावनात्मक मानवीय प्रेमको उदाहरण कामय गर्दै सामाजिक विकासमा लाग्न आग्रह गर्नुभयो । 

रुपाताल तमु (गुरुङ) समूहका अध्यक्ष सु. चेसबहादुर गुरुङले २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाउन पाउँदा अत्यन्त हर्षित भएको बताउनुभयो । 

पूर्व कानून मन्त्री यज्ञबहादुर थापाले सामाजिक, साँस्कृतिक रूपान्तरण र प्रवर्द्धनमा योगदान दिनुहुन सबैमा आग्रह गर्नुभयो ।

त्यस अवसरमा सांस्कृतिक कार्यक्रमका साथै, शिला स्तम्भ अनावरण, स्मारिका विमोचन र सम्मान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव द्वय मीनबहादुर गुरुङ र ताराप्रसाद गुरुङले गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button