तपाईँ सुन्दै हुनुहुन्छः

यस वर्षको बसुन्धराश्री पुरस्कार तुलसी दिवसलाई

काठमाडौँ । वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले विसं २०८२ को बसुन्धराश्री पुरस्कार तुलसी दिवस र मानश्री पुरस्कार तोया गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको आजको विशेष बैठकले उहाँहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष डा दुबसु क्षेत्रीले जानकारी दिनुभयो ।

आधुनिक नेपाली कविताहरूको सृजना एवं नेपाली लोक संस्कृतिको अध्ययन, अनुसन्धान र उन्नयनद्वारा नेपाली साहित्य र संस्कृतिलाई सार्थक, समृद्ध र समुन्नत बनाइ नेपाली वाङमय क्षेत्रलाई वैभवशाली र गरिमामय बनाउन दिवसको योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको हो । उक्त पुरस्कारको राशि रु ७५ हजार छ । विसं १९९८ असारमा धनकुटामा जन्मिनुभएका दिवसका तुलसी दिवसका कविता, नेपाली लोककथा, धिमाल लोकधर्म संस्कृति नामक कृति प्रकाशित छन् ।

आजको बैठकले आधुनिक नेपाली कविता, मुक्तक र कथामार्फत नेपाली साहित्यलाई स्तरीय, शालीन र समृद्ध बनाई नपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने तोया गुरुङलाई रु ५० हजार राशीको मानश्री पुरस्कार प्रदान गर्ने पनि निर्णय गरेको छ । विसं २००४ चैतमा सिन्धुपाल्चोकमा जन्मिनुभएका विशिष्ट साहित्यकार गुरुङका सूर्यदह, धुपी, देवल घुमेपछि, तोया गुरुङका कविता, पुनरावती, कुसुम र अस्पृश्य कृतिहरू प्रकाशित छन् ।

प्रतिष्ठानले विसं २०५७ सालदेखि नेपाली साहित्यमा विशेष योगदान पुर्‍याउनुहुने व्यक्तित्वलाई उक्त पुरस्कारहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button