तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्का) जात्रा आज रातीबाट सम्पन्न हुँदै 

भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम दिन आज भैरव र भद्रकालीको रथ तानेर रातीबाट विधिपूर्वक जात्रा सम्पन्न हुँदै छ । 

आज बेलुकी भैरवको रथ गःहिटीबाट तान्न सुरु गरिएको छ भने रत राती अबेर तौमढी पुर्‍याएसँगै जात्रा सम्पन्न हुन्छ ।

कुमालेटोलस्थित तालाक्वोमा हात नभएको लिङ्गो उठाएर जात्रा गर्दै अन्तिम दिन आज विधिपूर्वक पूजा गरी ढालेपछि भैरवको रथ तान्ने प्रक्रिया सुरु हुने गर्दछ ।

गत चैत २८ गते टौमढीबाट भैरव र भद्रकालीको रथ तानेरै सुरु भएको बिस्केट जात्रा आठ रात नौ दिनसम्म मनाइने गरिन्छ ।

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराइसकेपछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने  गर्दछन् ।

जात्राको अन्तिम दिन पनि पहिलो दिनको जस्तै गहिटीबाट रथलाई आ–आफ्नो टोलमा तानातान गरिन्छ । 

रथमा रहेको बेताल र भैरवको मूल देवता झिकेर भैरव मन्दिरमा भित्र्याएपछि जात्रा समापन हुने प्रचलन छ ।

बिस्केट जात्राको अन्तिम दिनलाई स्थानीय भाषामा द्यः(देवता) थाँहाँ बिज्याइगु अर्थात् देवतामाथि सवार हुने भनिन्छ । 

जात्राको अन्तिम दिन आज बिहान स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढाल्ने जात्रा सम्पन्न गरिएको छ । 

तान्त्रिक विधि अनुसार पूजा अर्चना गरि उभ्याइएको लिङ्गो ढालिएको थियो । 

गःहिटीबाट तौमढीका तल र माथिका बासिन्दाले तान्ने क्रममा ढुङ्गा हानाहान र झगडा हुन नदिन भक्तपुर नगर क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । 

जात्राका क्रममा यस वर्ष रथले किचेर नयाँ वर्षका दिन एक जनाको मृत्यु भैसकेको छ ।

गुठी संस्थान कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले भेलुखेलस्थित ल्यासिंखेलमा चैत मसान्तमा उठाउने लिङ्गो वैशाख २ गते ढाल्ने परम्परा रहे पनि यस वर्ष चैत मसान्तको मध्यरातसम्म पनि लिङ्गो नउठेपछि स्थानीयले वैशाख १ गते नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा लिङ्गो उठाएर साँझ ढालिएको बताउनुभयो ।

बिस्केट जात्रा हेर्नाले शत्रु नाश हुन्छ भन्ने धार्मिक मान्यता रहेको यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । जात्राका क्रममा हजारौँ जात्रालुहरुले होस्टे र हैँसे गर्दै डोरी तानातान गरि रथलाई आफ्नो टोलमा लैजान खोजेको दृश्य साँच्चैको मनोरम हुने गर्दछ । रथलाई तल्लो वा माथिल्लो जुन टोलमा लैजान सक्यो त्यही टोल विजयी भएको मानिन्छ ।

विक्रम संवत् अनुसार सौरमासको आधारमा चल्ने बिस्केट जात्रा बिःसीत ( नागनागिन मर्‍यो ) भन्ने भावका आधारमा लिच्छवि कालदेखि मनाइँदै आएको भनाई छ  । 

जात्राका कारण यहाँका बासिन्दालाई भ्याई नभ्याई हुने गर्दछ । बिस्केटको भोज सकिएपछि मात्रै यहाँका बासिन्दालाई  बल्ल फुर्सद पाउने स्थानीयहरू बताउँछन् ।

हालसम्म बिस्केट जात्राप्रतिको जनउत्साह र आकर्षणमा कमी नआउनु र मौलिकता समेत विखण्डित नहुनु यो जात्राको विशेषता मान्न सकिन्छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button