गण्डकी हिरोजलाई केपी ओली टी २० क्रिकेटको उपाधि
पोखरा । पोखरामा शुक्रबार सम्पन्न भएको दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा गण्डकीले सिइसी काठमाडौँलाई ५ विकेटले हराउँदै उपाधिसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा उपविजेता भएको काठमाडौँले पाँच लाख रुपैयाँ प्राप्त गर्यो ।
१ सय ८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ८५ रन बनाउन सफल भएको थियो । गण्डकीका वसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नट आउट रहँदै टोलीलाई जित दिलाउनुभयो । वसन्तले ३ छक्का प्रहार गर्नुभयो भने नारायणले १ छक्का प्रहार गर्नुभयो । किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट हुनुभयो । उहाँले ३ चौका र ४ छक्का प्रहार गर्नुभयो । सुजन थपलिया ३५ रनमा आउट हुनुभयो । काठमाडौँका लागि दिपेन्द्र रावतले ३ विकेट लिँदा मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिनुभएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौँले १९.४ ओभरमा १ सय ८२ रन बनाउँदै अलआउट भयो । अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याच आउट हुनुभयो । उहाँले भने ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गर्नुभयो । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट हुनुभयो । उहाँले २९ बलमा ७ चौका र २ छक्काको मद्दतमा अर्ध शतक बनाउनुभयो । सिवम तिवारीले २३ रन जोड्नुभयो । गण्डकीका लागि अमृत गुरुङ र कृष्ढा पौडेलले समान ३–३ विकेट लिनु भयो भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिनुभयो । गण्डकी हिरोजका किरण ठगुन्ना प्लेयर दी म्याच घोषित हुनुभयो ।
यस्तै काठमाडौँका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित हुनुभयो । उनले ३० हजार रुपैयाँ प्राप्त गर्नुभयो । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गर्नुभयो , ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि आफूले संसदमा आवश्यक पहल गर्ने बताउनुभयो । उहाँले खेलको विकासका लागि राज्यको सहयोग अत्यावश्यक रहेको सुनाउँदै खेलको भावनाअनुसार लाग्न अनुरोध गर्नुभयो । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले अब एकेडेमीले आफ्नै क्रिकेट टिम बनाउने उद्घोष गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्