मुख्यमन्त्रीद्वारा सर्लाहीका अवैध रुपमा सञ्चालित ११ अस्पताल बन्द गर्न निर्देशन

जनकपुरधाम । सर्लाहीको बरहथवाका रहेका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्ने निर्देशन दिनु भएको छ ।
मुख्यमन्त्री सिंहले अस्पताल सञ्चालनका लागि सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नभएको भन्दै बन्द गर्नका लागि निर्देशन दिनु भएको हो ।
बन्द गर्न निर्देशन दिइएका स्वास्थ्यसंस्थामा सङ्कट मोचन हेल्थ केयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।
हिजो अबेर साँझ बरहथवास्थित स्वास्थ्य संस्थाहरूको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधान विपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्डविपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिनु भएको हो ।
बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुअनुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिनु भएको हो ।
यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनलगायतका ठाउँमा स्वास्थ्य संस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डविपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिनु भएका थिए ।
प्रतिक्रिया राख्नुहोस्