म्याक्रोँंले रुबियो र विटकोफसँग पेरिसमा युक्रेन युद्धबारे छलफल गर्ने
पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले युक्रेनमा युद्धविराम गर्ने विषयमा अमेरिकी उच्च कूटनीतिज्ञसँग बिहीबार पेरिसमा भेटवार्ता गर्नुहुने भएको छ ।

युक्रेनीसेना प्रमुखले बिहीबार युक्रेनका उच्च अधिकारीहरू पनि युरोपेली सङ्घ र अमेरिकी प्रतिनिधिमण्डललाई भेट्न फ्रान्सको राजधानी पेरिसमा रहेको बताउनुभएको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियो र अमेरिकी राजदूत स्टिभ विटकोफले युद्ध चाँडै अन्त्य गर्ने प्रतिबद्धता जनाए पनि युद्धविरामकोको प्रयासले सफलता नपाएपछि अमेरिकी अधिकारीहरू फ्रान्सको राजधानी पेरिसमा आइपुग्नुभएको हो ।
युक्रेनको सुमी र क्रिभी रिग सहरमा हालै भएको रुसको हवाई आक्रमणमा थुप्रै बालबालिकासहित दर्जनौँ व्यक्तिको मृत्यु भएको छ र यसले कूटनीतिक प्रयासको शृङ्खलाका बावजुद युद्धले कसरी ठुलो क्षति व्यहोरिरहेको छ भन्ने देखाउँछ ।
युक्रेनको डेनिप्रो सहरमा बुधबार राति भएको रुसी ड्रोन आक्रमणमा एक बालिकासहित तीन जनाको मृत्यु भएको थियो ।
ट्रम्पले रुससँग प्रत्यक्ष वार्ताका लागि देखाएको तत्परताका कारण यस पहिले अमेरिकाका निकट सहयोगीका रूपमा रहेका कतिपय पश्चिमा राष्ट्रहरू चकित भएका थिए । म्याक्रोँले युक्रेनको रक्षाका लागि समन्वित युरोपेली प्रतिक्रिया सिर्जना गर्न नेतृत्व लिनुभएको छ ।
युक्रेनका सेना प्रमुख एन्ड्री येर्माकले आफू विदेशमन्त्री एन्ड्री सिबिगा र रक्षामन्त्री रुस्तम उमरोभ फ्रान्स, जर्मनी, बेलायत र संयुक्त राज्य अमेरिकालाई भेट्न पेरिस पुगेको बताउनुभएको छ ।
फ्रान्सका एक कूटनीतिक स्रोतका अनुसार यसअघि रुबियो र फ्रान्सका विदेशमन्त्री जाँ नोएल बारोटबिच युक्रेनको युद्ध, मध्यपूर्वको अवस्था र इरानी आणविक फाइलबारे छलफल हुने बताइएको थियो ।
पदभार ग्रहण गरेयता रुबियोको यो तेस्रो युरोप भ्रमण हो । पुटिनसँगको तेस्रो भेटको केही दिनपछि सोमबार विटकोफले शान्ति सम्झौता ‘उदीयमान’ भएको देखेको बताउनुभएको थियो ।
तेहरानको आणविक कार्यक्रमबारे अमेरिका र इरानबिच शनिबार ओमानमा भएको छलफलपछि पेरिस वार्ता भएको हो । अर्को चरणको खेल अप्रिल १९ मा ओमानमा हुने छ । फ्रान्सका रक्षामन्त्री सेबास्टियन लेकोर्नू बिहीबार वासिङ्टन जाने कार्यक्रम छ ।
उहाँले युक्रेन, इरान र गाजालगायत विभिन्न विषयमा वार्ताका लागि अमेरिकी रक्षामन्त्री पिट हेगसेठसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले नेसनल इन्टेलिजेन्सका निर्देशक तुलसी गबार्ड र ट्रम्पका युक्रेन दूत किथ केलगसँग पनि वार्ता गर्ने अपेक्षा गरिएको थियो । रासस/एएफपी
प्रतिक्रिया राख्नुहोस्