गठबन्धनमा रहेका दलहरूभित्र थप समन्वय र सन्तुलनको आवश्यकता रहेको काँग्रेसको निष्कर्ष
काठमाडौँ । नेपाली काँग्रेसले सत्तारूढ गठबन्धनभित्रका दलहरुबिच थप समन्वय र सन्तुलनको आवश्यकता रहेको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गठबन्धनमा रहेका दलहरूभित्र सशक्त समन्वयको आवश्यकता औँल्याएको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिनुभयो ।
गठबन्धनको सरकारमा एउटा दलले मात्रै चाहेजस्तो नहुने भन्दै सत्ता गठबन्धन दलहरुबीच समन्वयको आवश्यकता रहेको र सबैको कुरा समेट्नुपर्ने विषय बैठकमा छलफल भएको प्रवक्ता डा. महतले बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षमा रहेकाले सरकार ढल्दै छ भन्नु स्वभाविक भएको भन्दै प्रतिपक्षीले भनेकै आधारमा सरकार नढल्ने प्रवक्ता डा. महतको भनाई छ ।
छलफलमा सरकारले गति बढाउनुपर्ने विषय उठेको र त्यस विषयमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर संवाद भइरहेको कुरा राख्नुभएको पनि डा. महतले जानकारी दिनुभयो ।
बैठकमा समग्र राजनीतिक परिस्थितिबारे विश्लेषण, शिक्षक आन्दोलन र पार्टीको सङ्गठन संरचना, आगामी केन्द्रीय समिति बैठकलगायतका विषयमा पनि छलफल भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्