तपाईँ सुन्दै हुनुहुन्छः

बसाइँ सरेकालाई गाउँ फर्काउन डिट्ठा गाउँमा होमस्टे

पोखरा । कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ स्याक्लुङ्कोट डिट्ठा गाउँमा ‘स्याक्लुङ्कोट होमस्टे’ (घरवास) कार्यक्रम सञ्चालनमा आएको छ । 

जिल्लाको सदरमुकाम पोखराबाट पूर्व २४ किलोमिटर टाढाको दुरीमा रहेको स्याक्लुङ्कोट डिट्ठा  गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतिमा आधारित होमस्टे सञ्चालनमा आएको स्याक्लुङ्कोट होमस्टेका अध्यक्ष चन्द्रप्रसाद गुरुङले बताउनुभयो । 

एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता रहेको उहाँले जनाउनु भयो । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको अध्यक्ष गुरुङले जनाउनु भयो । 

पोखराको पृथ्वीचोक, विजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडाँ, तालबेसी हुँदै १४ सय मिटर उचाइको स्याक्लुङ्कोट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । तत्कालीन बेलायती राजकुमार चाल्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बस्नु भएको थियो । मौसम खुल्दा यहाँबाट मनोरम अन्नपूर्ण हिमशृङ्खला र पोखरा तर्फको मनोरम दृश्य देख्न सकिन्छ । 

सडक र खानेपानीको समस्याले स्थानीय बसाइ सरेर बजार झर्न थाले पछि डिट्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ ।  ८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउनु हुन्छ । अहिले भने गाउँमा पुग्ने अधिकांश सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्‍याइएको छ । 

अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे सञ्चालन गर्न लागिएको अगुवा क्याप्टेन तेजबहादुर गुरुङ बताउनु हुन्छ । होमस्टे सञ्चालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङले विश्वास व्यक्त गर्नुभयो ।  गाउँ सबै खाली भयो, खेतबारी बाँझो’ भयो होमस्टे सञ्चालन गरेर केही गर्न सकिन्छ की भनेर होमस्टे सञ्चालन गर्न गइरहेका छौँ, उहाँले भन्नुभयो । ५ घरबाट होमस्टे सुरुवात गरिएको छ । 

यसैबिच उक्त होमस्टेको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डाक्टर टकराज गुरुङले उद्घाटन गर्दै नेपालको विशेषता अनुसारको विकासको खाँचो रहेको बताउनुभयो । समृद्ध मुलुक र सुखी नेपाली बनाउन सबै भन्दा भरपर्दो माध्यम भनेको पर्यटन रहेको उहाँको दाबी थियो । अब आत्मनिर्भरता तर्फ जानु पर्छ समृद्ध देश सुखी नेपाली अबको हाम्रो यात्रा हो । त्यो यात्राको सबै भन्दा भरपर्दो भनेको पर्यटन विकास हो, उहाँले भन्नुभयो । 

कार्यक्रममा रुपा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कृष्णराज सुवेदीले स्थानीय उत्पादन र संस्कृति प्रवद्र्धन गदै पर्यटकलाई गाउँमा ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तमु धिँ नेपालकी प्रथम उपाध्यक्ष गिमाया गुरुङ, समाजसेवी नारायण कुमार श्रेष्ठ, नेपाली कांग्रेस रुपा गाउँपालिका अध्यक्ष विमलबाबु न्यौपाने, नेपाली कांग्रेस रुपा गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष अर्जुन श्रेष्ठ, स्याक्लुङ्कोट तमु समाज अध्यक्ष धनकुमारी गुरुङ र कमला गुरुङले स्याक्लुङ्कोटका समस्या र सम्भावना बारे भनाई राख्नु भएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button