संविधान संशोधन प्रक्रिया चाडै अघि बढ्छ: उपप्रधानमन्त्री सिंह

विराटनगर । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यमा वनेको गठबन्धन सरकारले संविधान संशोधन प्रक्रिया चाडै अघि बढाउने गरि काम गरिरहेको बताउनु भएको छ ।
गणेशमान सिंह फाउण्डेशनले विराटनगरमा आज आयोजना गरेको विचार गोष्ठीलाई संवोधन गर्नुहुँदै उहाँले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने प्रष्ट पार्दै संविधान संशोधन गरेर अहिले देखिएका सबै समस्या समाधान गर्न सरकार तत्पर रहेको उल्लेख गर्नुभयो । संविधान संशोधन गरेर तिन तहको सरकारलाई थप बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले यो भएन वा त्यो भएन भन्ने हरुले लामो समय सत्ता सञ्चालन गर्दा पनि जनताको पक्षमा काम गर्न नसकेको बताउँदै उहाँले लोकतन्त्रको विकल्पमा कुनै पनि निरङ्कुश शासन जनतालाई स्वीकार्य नहुने प्रष्ट पार्नुभयो । गणेशमान सिंहको मूल्य मान्यताको राजनीतिलाई सबै राजनीतिक दलले आत्मासाथ गर्नुपर्नेमा बताउनु भयो । सत्ता केन्द्रित राजनीति भन्दा मूल्य मान्यताको राजनीति अहिले आवश्यक रहेको उहाँको भनाई थियो ।

सो अवसरमा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले नेपाली जनताले लोकतान्त्रिक व्यवस्थाको विकल्प नचाहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष अजम्वर राई, नेकपा माओवादीको नेता एवं प्रदेश सांसद गणेश उप्रेतीले राजनीतिक स्थायित्वका लागि दलहरू एक जुट हुनुपर्नेमा जोड दिनुभयो । फाउन्डेसनका मोरङ अध्यक्ष फुलकुमार लालवानीको अध्यक्षतामा भएको कार्यक्रममा लोकतान्त्रिक योद्धा शान्ता घिमिरे र इन्दुदेवी नौलखालाई सम्मान गरिएको थियो ।
यसैगरि आजै उपप्रधानमन्त्री सिंहले मोरङको क्षेत्र नम्बर पाँचमा आज तीन वटा पक्की पुलको उद्घाटन समेत गर्नुभयो । मोरङको सीमावर्ती जहदा गाउँपालिकामा सहरी विकास मन्त्रालयले निर्माण गरेको तीन वटा पुलको मन्त्री सिंहले उद्घाटन गर्नुभएको हो । कटहरी गाउँपालिका वडा नम्बर दुई र जहदा गाउँपालिका वडा नम्बर ४ जोड्ने लोहन्द्रा खोलाको कृपालघाट, जहदा गाउँपालिका सातस्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा दुईस्थित जुडी खोलामा निर्मित पुल उद्घाटन गरिएको हो ।
सो अवसरमा बोल्नुहुँदै उपप्रधानमन्त्री सिंहले ग्रामीण क्षेत्रमा निर्माण भएको सडक र पुलले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने बताउनुभयो । किसानले उत्पादन गरेको तरकारी लगायतका कृषिजन्य वस्तु बजारसम्म पु¥याउन निमार्ण भएका यस्ता पुल उपयोगी हुने र किसानले उत्पादन गरेको कृषि उपजले सहज बजार पाउने उहाँले बताउनुभयो ।

तीन वटै ठाउँमा निर्माण भएको पुलले स्थानीयवासीको दैनिक जीवनमा ठूलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले बताउनु भयो । उहाँले यी ठाउँहरूमा पुल नहुँदा १२ औँ महिना सर्वसाधारण समस्या झेल्दै आएको उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले पुल बनेपछि स्थानीयलाई आवत जावतमा सहज भएको बताउनुभयो ।
कटहरी गाउँपालिकादेखि –भारतीय सीमासम्मको सडक निर्माण गरी गणेशमान सिंह सडक नामकरण प्रस्ताव गरेको सडकको नाममा स्थानीयले समर्थन जनाउँदै उपप्रधानमन्त्री सिंहलाई चालु आबमा नै बजेट विनियोजन गरेर सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकरण गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्