यु–१९ विश्वकप एसिया छनोट: नेपालको लगातार तेस्रो जित
काठमाडौँ ।नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ ।

मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हराएको हो । नेपालको यो लगातार तेस्रो जित हो ।
यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ–लुइस (डिएलएस मेथोड) का आधारमा पाँच रन र दोस्रो खेलमा ओमानलाई नौ विकेटले हराएको थियो ।
जितसँगै पाँच टोली सहभागी प्रतियोगितामा नेपालले ६ अङ्क बनाएको छ । नेपालले अब अन्तिम खेल शनिबार अफगानिस्तानसँग खेल्नेछ । शीर्ष टोली सन् २०२६ मा हुने विश्वकपमा छनोट हुनेछन ।

जितका लागि एक सय १६ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १२.३ ओभरमा एक विकेटको क्षतिमा एक सय १८ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
नेपालका लगि ओपनर शाहिल पटेलले अविजित ४२ रन बनाउनुभयो । उहाँले ४१ बलमा आठ चौकाको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान नरेन भट्टले अविजित ३९ र निरजकुमार यादवले २३ रन बनाउनुभयो । बलिङमा हङकङका सयन पुरीले एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय १५ रन बनाएको थियो । हङकङका लागि कप्तान शिव माथुरले अर्धतक प्रहार गर्नुभयो ।
उहाँले एक सय १६ बलमा चार चौका र एक छक्काको सहयोगमा ६३ रन बनाउनुभएको हो । यस्तै आर्या पंजवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रन जोड्नुभयो ।
बलिङमा नेपालका लागि युवराजले चार विकेटसँगै विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई तथा अशोक धामीले एक विकेट लिनुभयो । दुई खेलमा दुवै हार खेपेको हङकङले अङ्कको खाता खोल्न सकेको छैन ।
प्रतिक्रिया राख्नुहोस्