कोशी प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने
'१ खर्व ३९ अर्बको लगानी भित्राउने लक्ष'
विराटनगर । कोशी प्रदेशमा थप लगानी भित्राउने उद्देश्यले कोशी प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भएको छ ।

औद्योगिक वातावरण निमार्ण गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले यही वैशाख १८ र १९ गते प्रदेश सरकारले लगानी सम्मेलन आयोजना गर्न लागेको हो ।
प्रदेश सरकारले सम्मेलनबारे जानकारी गराउन विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा लगानी सम्मेलनमा १ खर्व भन्दा बढीको लगानी भित्राउने प्रदेश सरकारको लक्ष्य रहेको जानकारी गराइयो । कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलनमा १ खर्व ३९ अर्ब रुपैयाँको लगानी भित्राउन ५४ वटा परियोजना सोकेसिङमा राखिएको छ ।
लगानी प्राधिकरण कोशी प्रदेशका कार्यकारी अधिकृत डा सरोज कोइरालाले, पर्यटन क्षेत्रमा १५ वटा भौतिक पूर्वाधारमा १४ वटा योजना तथा कृषिका ९ उद्योगमा ९ वटा परियोजना समावेश गरिएको बताउनुभयो । यस्तै सूचना प्रविधि क्षेत्रमा २ वटा र वेस्ट म्यानेजमेन्ट क्षेत्रमा २ वट परियोजना सम्मेलनका लागि सोकेसिङ भएको र लगानी सम्मेलन मार्फत होटल, रिसोर्ट, वाटर पार्क, होटल लगायतका योजना समावेश हुने उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा वोल्नुहुँदै कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कुमार कार्कीले, प्रदेशमा लगानीका नयाँ सम्भावना प्रशस्त रहेकाले त्यसको पहिचान गर्दै उद्योगहरू स्थापनामार्फत राष्ट्रिय पूँजी निर्माणका लागि सम्मेलन आयोजना गर्न लागेको प्रष्ट पार्नुभयो । गरिबी निवारण र रोजगारी सिर्जना गर्न सम्मेलन उपयोगी हुने भएकाले प्रदेश सरकारले स्थानीय तह, संघीय सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उहाँको भनाई थियो ।
कोशी प्रदेशका आन्तरिक मामिलातथा कानुन मन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार गर्दे प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने बताउनुभयो । लगानी कार्यान्वयनका लागि आउन सक्ने कानुनी जटिलता हटाउन पनि प्रदेश सरकार तत्पर रहेको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले कानुनी, नीतिगत एवम् प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानीमैत्री वातावरण निर्माण गर्ने कोशी प्रदेश सरकारका सचिव पवनकुमार तिम्सिनाले बताउनुभयो ।
विराटनगर स्थित विरेन्द्रसभागृहमा आयोजना हुने सम्मेलनमा स्थानीय तहका जनप्रतिनिधि, नीति निमार्णका तहमा कार्यरत व्यक्ति, स्वदेश तथा विदेशका लगानीकर्ता, गैर आवासीय नेपाली एनआरएन लगायतका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहने जनाइएको छ ।
सम्मेलनमार्फत प्रदेशमा स्वदेशी, निजी एवम् प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान परिचालन र आधार तयार हुने अपेक्षा गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो। कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना हुने भएपछि उद्योगी व्यवसायीहरू समेत उत्साहित भएका छन् ।
प्रतिक्रिया राख्नुहोस्