सामाजिक सद्भाव र सहिष्णुता नै स्थायी शान्तिको आधार हो: मुख्यमन्त्री सिंह
बीरगंज । मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सद्भाव र सहिष्णुता नै स्थायी शान्तिको आधार भएको बताउनुभएको छ ।

हनुमान जयन्तीका अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभा यात्राका क्रममा उत्पन्न तनाव र त्यसपछि भएको घटनाक्रमप्रति मधेश प्रदेश मुख्यमन्त्री कार्यालयद्वारा आज जारी विज्ञप्तिमा मुख्यमन्त्री सिंहले गहिरो चासो व्यक्त गर्दै स्थिति सामान्य पार्न प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको र जनजीवन सहज बनाउन सक्रिय पहल जारी राखिएको बताइएको छ ।
मुख्यमन्त्री सिंहले कसैको धार्मिक पहिचान वा आस्थाको आधारमा विभेद वा द्वेष फैलाउने प्रयासलाई कुनै हालतमा सह्य नहुने स्पष्ट पार्दै घटनामा संलग्न जो–कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको छ । बाहाँले राज्यको धर्मनिरपेक्ष चरित्र कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ ।
जारी विज्ञप्तिमा वीरगंजको धार्मिक, सांस्कृतिक र जातीय विविधता नै मधेसको शक्ति भएको उल्लेख गर्दै त्यसलाई कमजोर बनाउने प्रयास दुःखद, चिन्ताजनक र दुर्भाग्यपूर्ण हुने बताइएको छ ।
सामाजिक सद्भाव कायम गर्न राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र स्थानीय प्रशासनको भूमिकालाई प्रशंसनीय भन्दै मुख्यमन्त्री सिंहले एक–अर्काको धार्मिक विश्वास र आस्थाप्रति सम्मान गर्नु नागरिकको साझा दायित्व भएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले हालै सम्पन्न सर्वदलीय बैठकले तय गरेको पाँच बुँदे सहमतिअनुसार दोषी पहिचान, निष्पक्ष अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रशासनलाई आग्रह गरिसकिएको जानकारी पनि दिनुभएको छ ।
यसैबिच धार्मिक सद्भाव बिथोल्ने र तोडफोडको आरोपमा केही हिन्दुवादी युवाहरू पक्राउ परेपछि आज बिहान वीरगञ्जका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले वीरगञ्जको घण्टाघर, माईस्थान, श्रीपुर, प्रतिमा चोक र परवानीपुर बजार क्षेत्रमा टायर बाल्दै प्रदर्शन गरेका छन् । परवानीपुरमा टायर बालिएपछि आज बिहान केही समय सवारी आवागमन प्रभावित भएको थियो ।
घटनापछि सुरक्षाको आवश्यक व्यवस्था गर्न जिल्ला प्रहरी कार्यालय पर्साबाट थप सुरक्षाकर्मी परिचालन गरिएको छ ।
पर्सा प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न प्रमाणित भएकाहरूलाई मात्र पक्राउ गरिएको स्पष्ट पार्दै कसैलाई धार्मिक पहिचानका आधारमा कारबाही नगरिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्