तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता बिहीबारदेखि

काठमाडौँ । नेपाल खेलकुद महासङ्घ (नेकोस) तथा राष्ट्रिय जुडो सङ्घ नेपालको संयुक्त आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता हुने भएको छ ।

बिहीबारदेखि हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्ला/क्लब, भुटान र थाइल्यान्डका दुई सय ५० खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सङ्घका अध्यक्ष धर्मकुमार श्रेष्ठकाअनुसार पुरुषमा १२ र महिलामा ११ स्पर्धामा २१ वर्षमुनिका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । वैशाख ४ गते ११ तथा वैशाख ५ गते १२ स्पर्धाको फाइनल हुनेछ ।

सोही प्रतियोगिताअन्तर्गत नेकोस र जुडो सङ्घसहित नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो सङ्घको संयुक्त आयोजनामा प्रथम पारा जुडो प्रतियोगिता पनि हुनेछ । पुरुषमा ६० किलोग्राम (केजी) मुनि तथा महिलामा ५२ केजीमुनि तौल समूहमा खेल खेलाइने छ ।

यसै प्रतियोगिताबाट जापानमा नोभेम्बरमा हुने डेफ ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । दुई दिने प्रतियोगिताका खेलहरू खुसीबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा हुनेछन् । 

पत्रकार सम्मेलनमा सन् २००८ को बेइजिङदेखि २०२० को टोकियासम्म लगातार चार ओलम्पिक खेलेकी तथा विश्व जुडो च्याम्पियनसिपमा दुई कास्य जितेकी अस्ट्रियाकी सब्रिना फिल्मोसरको पनि उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button