तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु प्रभावित क्षेत्रका घरले बिमा रकम पाएपछि राहत महसुस

चितवन । चितवन राष्ट्रिय नजिक पर्ने माडी नगरपालिकाको वन्यजन्तु क्षेत्रमा रहेका घरमा बिमा रकम पाएपछि राहत महसुस गरेका छन् । नगरपालिकाले वन्यजन्तु क्षेत्रका प्रभावितको क्षतिपूर्ति भराउने उद्देश्यसहित १हजार पाँच सय घरको बिमा गरेको थियो ।  

चितवनको माडी नगरपालिका १ स्थित पाण्डवनगरकी बुधनी बोटेको घर जङ्गली हात्तीले दुई पटक भत्काइदिएपछि आफूले बिमा गरेको बताउनु भयो  । पछिल्ला दुई वर्षको पुस महिनामा धुर्बे हात्तीले उनको घरको नामनिसान नराख्ने गरी भत्काइदिएको थियो । ‘मलाई समयमै नगरपालिकाले बीमा गरिदियो । बल्ल राहत महसुस भयो ।’ उहाँले भन्नुभयो ।

जङ्गल छेउमै ऐलानी जग्गामा घर बनाएर एक्लै बसेकी बोधनी बिमा रकमले घर बनाउन सजिलो भएको उहाँले बताउनु भयो ।

अहिले पनि पैसा आएपछि बोधनी घर बनाउने तयारीमा छिन् । ‘घर छाडेर अन्यत्र जाने कुरा भएन, घर त यही बनाउनै प¥यो’, भत्किएको घर देखाउँदै बोधनीले भन्नुभयो , ‘जङ्गलबाट खर र काँस ल्याएर भए पनि घर बनाउनुपर्छ ।’

पाण्डवनगरलाई तीन तर्फबाट चितवन राष्ट्रिय निकुञ्जले घेरेको छ। निकुञ्जले घेरेको स्थानमा जङ्गली जनावरी आइरहन्छन्। पाण्डवनगरकी ४२ वर्षीया सरिता बोटेले पनि घर बिमा गर्नुभएको छ । एक सय ५० रुपैयाँमा बिमा गरेकी बोटे वन्यजन्तुले घर भत्काए पनि केही राहत मिल्ने आशामा हुनुहुन्छ ।

चितवनको माडी नगरपालिकाले बोधनीको जस्तै पाण्डवनगरका वन्यजन्तुबाट प्रभावित ६५ घरको बिमा गरिदिएको छ। विशेषगरी निकुञ्जबाट निस्कने हात्तीले मध्यवर्ती क्षेत्रका बासिन्दाको घर भत्काउने क्रम नरोकिएपछि नगरपालिकाले घर बिमा गर्ने कार्यक्रमलाई अघि बढाएको नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म माडी नगरपालिकामा एक हजार पाँच सय घरको बिमा गरिएको छ ।

नगरपालिकाको अनुदानमा प्रभावित घरको बिमा गरिरहेको उहाँले जानकारी दिनुभयो । जङ्गली जनावरको आक्रमणले घर भत्काएमा बिमा कम्पनीले आवश्यकताअनुसार क्षतिपूर्ति व्यवस्था गर्ने गरेको उहाँको भनाइ छ।

नगरपालिकाले एक लाख रुपैयाँसम्मको मूल्याङ्कन गरेर बिमा गरिदिने गरेको छ। त्यसबापत नगरपालिकाले प्रत्येक वर्ष प्रति घर सय रुपैयाँ बिमा कम्पनीलाई रकम बुझाउने गरेको छ। लाभग्राहीले प्रत्येक वर्ष बिमा नवीकरण गर्नुपर्ने हुन्छ।

माडी वन्यजन्तुको अति प्रभावित ठाउँसमेत हो। यहाँ हात्ती र गैँडाहरू बस्ती पसेर घरै भत्काइदिने गर्दछन्। बिमा रकम उपलब्ध भएपछि उपभोक्तालाई राहत मिलेको पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिका कोषाध्यक्ष राजकुमार पाठक बताउनुहुन्छ । ‘वन्यजन्तुले घर भत्काएपछि उपभोक्तालाई घर बनाउन मुस्किल हुन्थ्यो। यो बिमाले  केही राहत महसुस भएको छ’, उहाँले भन्नुभयो ।

हात्तीले ठूला र पक्की घर नभत्काउने भएकाले खरको छानो, बाँसको भित्तो र खरले नै बारेर बनाइएका घरहरू बिमा समावेश गरिएको छ। माडी नगरपालिकाको बाँदरझुला, प्याउली खोला, सिमरा, इमिलिया, पाँच पाण्डव, वनकट्टालगायत रिउका तटीय क्षेत्रमा मानव र वन्यजन्तुबीच द्वन्द्व हुँदै आएको छ। यस्ता राहत कोषले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण समेत हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button