रामारोशनमा पर्यटन प्रवर्द्धनका लागि अछाम साहित्य उत्सव सम्पन्न
अछाम । अछामको रामारोशन गाउँपालिका–५ मा अवस्थित रामारोशन पर्यटकीय स्थलमा नयाँ वर्षमा घुमघामका लागि आन्तरिक पर्यटक बढिरहेका छन् । यसैबिच अछाम गजल मञ्चले पर्यटन प्रवर्द्धनका लागि अछाम साहित्य उत्सव रामारोशनको रामे मैदानमा सम्पन्न गरेको छ ।

नयाँ वर्षको अवसरमा आयोजित उत्सवमा अछाम जिल्ला र जिल्ला बाहिरका साहित्यकार, पत्रकार र सरोकारवालाहरूको सहभागिता रहेको थियो । रामारोशनको पर्यटन प्रवर्द्धनका लागि ‘अछाम साहित्य उत्सव’ को आयोजना गरिएको गजल मञ्चका अध्यक्ष भिम सरोवरले बताउनुभयो । उत्सवका लागि रामारोशन गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो । कार्यक्रमको प्रवर्द्धन रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले गरेको थियो ।
साहित्य उत्सवको पहिलो दिन उदघाटनसंगै स्थानीय तहमा ‘महिला नेतृत्व अवसर र चुनौती’ विषयक संवाद सञ्चालन गरिएको थियो । नेतृ अनुराधा स्वारसंग गरिएको उक्त संवादको सहजिकरण रेडियो नेपालका अछाम संवाददाता हिक्मत बहादुर नेपालीले गर्नुभएको थियो । यस्तै ‘भूमिगतदेखि गणतन्त्र सम्मको यात्राः एक अनुभव’ विषयक संवाद खडक बहादुर रोकाया ‘सागर’ सँग गरिएको थियो, जसको सहजिकरण पत्रकार शिवराज खत्रीले गर्नुभएको थियो ।

उत्सवको दोस्रो दिन रामारोशनका भेडिगोठका कथा सेसन (भेडापालक कृषक उदय ब. रोकाया ‘रकेट’ सँग भेडा चराइरहेकै स्थानमा गएर सञ्चालन गरिएको थियो । जसको सहजीकरण पत्रकार रमेश रावतले गर्नुभयो ।
यस्तै एकल वाचन (मुक्तक र गफ) सेसन रावल कृष्णसँग पत्रकार र साहित्यकार टेकराज भण्डारीको सहजीकरणमा सम्पन्न भएको थियो । दोस्रो दिनकै अर्को सेसन अन्तरगत अछामी गजल वाचन गरिएको थियो ।
उत्सव सफल पार्न सहयोग गर्ने सबैलाई आयोजक गजल मञ्चले धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्