तपाईँ सुन्दै हुनुहुन्छः

बाँके राष्ट्रिय निकुञ्जमा ३० औं वन्यजन्तु सप्ताह सुरु

बाँके।बाँके राष्ट्रिय निकुञ्जले ३० औं वन्यजन्तु सप्ताह सुरु गरेको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले ‘बुझौं वन्यजन्तुको आनीबानी, घटाऔं मानवसँगको द्वन्द्व र हानि–नोक्सानी’ भन्ने मूल नाराका साथ सप्ताह मनाउन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार सात दिनसम्म विभिन्न कार्यक्रमहरू आयोजना गरिनेछन्।

वन्यजन्तु सप्ताह मनाउने क्रममा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न निकुञ्जभित्र रहेका बासस्थानहरूको व्यवस्थापन गरिएको छ। यस अन्तर्गत पानी पोखरी र घाँसे मैदानहरूको संरक्षण तथा व्यवस्थापन गरिएको वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताउनुभयो। उहाँले भन्नुभयो, “एउटै पोखरीमा बाघ, हात्ती, जरायो, चित्तल लगायतका विभिन्न वन्यजन्तु विचरण गरिरहेको देखिन्छ। पहिले यी जनावरहरू बाहिर निस्कँदा मानिससँग द्वन्द्वको अवस्था आउँथ्यो। तर, बासस्थानको सुधारले यस्ता घटना कम भएका छन्।”

विसं २०६७ मा बाघ संरक्षणको लक्ष्यसहित स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गरिएको गणनामा ४ वटा बाघ देखिएका थिए भने सन् २०२२ को गणनामा यो संख्या बढेर २५ पुगेको छ। जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन तथा व्यवस्थापन र पर्यटन प्रवर्द्धनका उद्देश्यले विभिन्न गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।

करीब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न प्रजातिका स्तनधारी जनावर र चराहरू पाइन्छन्। मुख्यतः बाघको लागि उपयुक्त बासस्थान मानिने यो निकुञ्जमा चौका प्रजातिलाई विशेषता स्वरूप हेरिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकसहित भारतीय पर्यटकहरू पनि निकुञ्ज भ्रमण गर्न थालिरहेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button