नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्छ : राष्ट्रपति
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गर्नुभएको छ ।
नयाँ वर्ष २०८२ को शुभारम्भसँगै आज वैशाख १ गते नगरकोटको बतासे डाँडामा राष्ट्रपति पौडेलले भ्रमण वर्षको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले न्युन आर्थिक वृद्धिको चक्रबाट नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतन्त्रको सुदृढीकरण सहित नेपाली जनताले चाहेको तीव्र विकासको आकाङ्क्षा पुरा गर्नु सबैको साझा दायित्व भएको बताउनुभयो ।
उहाँले जनताको चाहना अनुसार शान्ति दिगो बिकास,समावेशी समाज ,आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण सहित राष्ट्रनिर्माणको अभियानमा सबै जुट्नुपर्ने बताउनुभयो ।

चर्चित पर्यटकीय गन्तव्य नगरकोट संस्कृति,प्रकृति,इतिहास र भूगोलको संगमस्थल भएको बताउँदै पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो । राष्ट्रपति पौडेलले विकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र भएको बताउँदै स्थानीय पर्यटन क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा जोडी आर्थिक समृद्धितर्फ लम्कनुपर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले पर्यटकीय क्षेत्रलाई आर्थिक विकासमा रूपान्तरण गर्न पूर्वाधारको बिकास गर्दै कौशल बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले पर्यटन क्षेत्रलाई आय आर्जन र रोजगारीको अवसर सृजना गर्न लगानी योग्य वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
पर्यटकीय उपजको व्यवसायीकरण गरी यसबाट प्राप्त लाभको सामान्यीकरण र सुनिश्चित गर्न औद्योगीकरणमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट भ्रमण वर्षले मुलुककै पर्यटन क्षेत्रको समग्र विकासलाई जगाउने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा संघीय सांसद गोकुल बास्कोटा,भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक तथा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री,भ्रमण वर्षका विज्ञ डा.घनश्याम खतिवडा लगायतले भ्रमण वर्षको क्रममा प्रत्येक नगरबासीलाई घर–घरबाट जागृत गराउने बताउनुभयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका सहित काठमाडौँ र काभ्रेपलान्चोकका विभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’मा ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।
नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा आयोजित भ्रमण वर्षमा एक लाख आन्तरिक र १० लाख बाह्य गरी ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको जानकारी दिइयो ।
काठमाडौँको शंखरापुर नगरपालिका, काभ्रेको मण्डन देउपुर नगरपालिका र बनेपा नगरपालिकाको समेतको संयुक्त आयोजनामा सुरु भएको भ्रमण बर्षभित्रै नगरकोटलाई पर्यटकीय क्षेत्र घोषणा गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने समेत लक्ष्य आयोजकको छ ।

भ्रमण वर्षको शुभारम्भका क्रममा ५० भन्दा बढी स्टलहरू रहेका छन् । यस्तै फुड स्टल तथा कृषि सामग्रीका स्टल, गुरुङ समुदायको संग्राहलय तथा प्रत्येक पालिकाका छुट्टाछुट्टै झाँकी भ्रमण वर्षको कार्यक्रममा प्रस्तुत गरिएको छ ।
नगरकोट भ्रमण वर्षलाई नै लक्षित गरेर नगरकोटदेखि काठमाडौँसम्म सिधा बस सेवा सुरु भइसकेको छ । भ्रमण वर्षको अवधिभर पर्यटकलाई चार वटा नगरपालिका भित्रका विभिन्न महत्त्वपूर्ण मठमन्दिरलगायत अन्य विविध धार्मिक, पौराणिक, आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रहरूको भ्रमण गराइने भएको छ ।
नगरकोटलाई पर्यावरणीय मनोरम दृश्यावलोकन, हिमाली दृश्यहरू, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकनका लागि काठमाडौँ उपत्यकाकै मुख्य पर्यटकीय गन्तव्यका रूपमा लिइने गरिन्छ ।
नगरकोट काठमाडौँ उपत्यकाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा चिनिएको ठाउँ हो, तर पछिल्लो समय सडकसहितका कारणले ओझेल पर्दै गएको देखिन्छ ।
प्रतिक्रिया राख्नुहोस्