तपाईँ सुन्दै हुनुहुन्छः

टोखाको सपनतीर्थमा मेला: बिहानदेखि भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरु भएको छ । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो । 

प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ । आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा न-२ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन् ।

सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ । सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ । टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ ।

काठमाडौँ टोखा नगरपालिका-२ स्थित धार्मिकस्थल सपनतिर्थ मन्दिरमा नयाँ वर्षका दिन सोमबार पूजाअर्चना गर्न आएका भक्तजन । यस मन्दिरमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्छ । तस्बिर: हरिराम भेटुवाल/ रासस

बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धूमधामसँग यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button