आतिसबाजी सहित पोखरामा नयाँ वर्षलाई स्वागत: फेवा महोत्सवमा दर्शकको भिड

पोखरा । पर्यटनको राजधानी पोखरामा नेपाली नयाँ वर्ष २०८२ लाई आतिसबाजी सहित भव्य स्वागत गरिएको छ ।

पोखरामा जारी २० औँ संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ को अवसरमा आइतबार मध्यान्ह: राति १२ः०० बजे देखि नयाँ बर्ष सुरु भएसँगै पोखराको वसुन्धरा पार्कमा करिब २० मिनेट जसो आतिसबाजी गर्दै नयाँ बर्षलाई भव्य स्वागत गरिएको आयोजक होटल संघ पोखरा नेपालले जनाएको छ ।

पोखराको पर्यटकीय स्थल लेकसाइडमा हजारौँ दर्शकको सहभागितामा आतिसबाजी सहित नयाँ वर्ष २०८२ लाई स्वागत गरिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । आतिसबाजी गर्दा सहभागी हजारौँ दर्शक रमाइलो गर्दै ‘हृयाप्पी न्यू ईअर’भन्दै अतिसबाजी गरेको भिडियो आ–आफ्नो मोबाइलमा कैद गर्दै हुटिङ समेत गर्नु भएको थियो ।

नेपाली नयाँ बर्षलाई हर्ष र उल्लासका साथ मनाउन आफूहरूले विधि प्रक्रिया पूरा गर्दै सावधानी पूर्वक आतिसबाजी गर्दै महोत्सवमा सहभागी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई मनोरञ्जन दिलाएको सङ्घको भनाई रहेको छ । यसपालिको फेवा नव बर्ष महोत्सवमा आफूहरूले अपेक्षा गरे अनुसारका पर्यटकहरूको सहभागिता रहेको अध्यक्ष सुवेदीले जनाउनु भयो ।

आजसम्म सञ्चालन हुने महोत्सवको अवसरमा दुई दिन सार्वजनिक बिदा समेत भएकोले गर्दा महोत्सवले गर्दा पोखराको होटल अकुपेन्सि ८० प्रतिशत भन्दा माथि भएको उहाँको दाबी थियो । पोखराको लेकसाइडका विभिन्न चोक तथा चौताराहरूमा पंचैवाजा, भजन र रत्यौली, सारङ्गीको धुन लगायतका नेपाली मौलिक बाजा र नाच प्रस्तुत गरिएको थियो ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षणको रुपमा रहेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटेलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गरेको उल्लेख गर्नु भयो ।
महोत्सवलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ । यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरूको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत भएको छ । फेवा महोत्सवको सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरूमा बन्दीपुर केबलकार लि. फोन पे, अन्नपूर्ण केबलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकाका रहेको संघका महासचिव राजेन्द्र ढकालले बताउनु भयो । एसके डान्स ट्रेनिङका कलाकारले सो अवसरमा नृत्य प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्