वीरगञ्जमा कफ्र्यु हट्यो निषेधाज्ञा जारी
वीरगञ्ज । वीरगञ्जमा दुई दिनदेखि जारी कफ्र्यु हटेको छ भने बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। गत शनिबार बेलुका दुई समूहबीचको झडपपछि लगाइएको कफ्र्यु आदेश पर्सा जिल्ला प्रशासन कार्यालयले हटाएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र लागू गरिएको कफ्र्यु हटाइएको जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी अर्यालले जारी गरेको विज्ञप्तिमा कफ्र्यु हटाउने निर्णय आइतबार सम्पन्न सर्वपक्षीय बैठकको निष्कर्ष तथा क्षेत्रको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषणपछि गरिएको उल्लेख छ। विज्ञप्तिमा वीरगंजको अवस्था पूर्णरूपमा सामान्य भइनसकेको भन्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ क) अनुसार निषेधाज्ञा जारी गरिएको जनाइएको छ। निषेधाज्ञा अन्तर्गत वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्म पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ गण्डक चोक, दक्षिणतर्फ शंकराचार्य गेट भित्रका क्षेत्रहरूमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने आदेश जारी गरिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले निषेधाज्ञा उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइ कडा कारबाही गरिने चेतावनीसमेत दिनुभएको छ। कफ्र्यु हटाइए पनि निषेधाज्ञा जारी रहने भएकाले नागरिकहरूलाई संयमित रहन, अफवाहमा नपर्न तथा शान्ति र सद्भाव कायम राख्न स्थानीय प्रशासनले आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्