ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडक स्तरोन्नति
भोजपुर । जिल्लास्थित ओख्रेको सहिद गेट–हुर्वु भञ्ज्याङ सडकको स्तरोन्नति थालिएको छ । संघीय सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागतमा सडक स्तरोन्नति थालिएको हो ।
पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे सडकअन्तर्गत सहिद गेटबाट हुर्वु भञ्ज्याङसम्म दुई दशमलव १६ किलोमिटर खण्ड स्तरोन्नति भइरहेको छ । सडकको मोड मिलाउने, सडक चौडा गर्ने, कजवे बनाउने, मेसिनरी पर्खाल लगाउने, जाली लगाउने ग्राभेल गर्ने काम भइरहेको निर्माण कम्पनी इष्ट बीएनले जनाएको छ । हालसम्म यो सडक निर्माणको काम ३० प्रतिशत हारहारी सम्पन्न भएको कम्पनीका सुपरभाइजर जीवन बुढाथोकीले जानकारी दिनुभयो । अबको एकदेखि दुई महिनाभित्र सम्पूर्ण काम सक्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
पिखुवा खोला–दलगाउँ–भुल्के–ओख्रे–सहिद गेट–हुर्वु भञ्ज्याङ करिब १६ किलोमिटर सडकमध्ये सहिद गेट–हुर्व भञ्ज्याङ सडक निर्माण भइरहेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । गाउपालिकासँगै छिमेकी जिल्ला खोटाङलाई जोड्ने यो सडक निर्माणको काम प्राथमिकतासाथ अघि बढाइएको अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईका अनुसार गाउँपालिकाको पहलमा लागतमा पहिलो खण्डको काम भइरहेको छ । धेरै पहलकदमीपछि केन्द्र सरकारबाट प्राप्त रु तीन करोड ८८ लाख लागत सडक स्तरोन्नति थालेका छौँ । उक्त सडकको अन्य दुई खण्डमा पनि यही वर्षमा स्तरोन्नतिको काम गरिने अध्यक्ष राईले बताउनुभयो । पिखुवा खोलादेखि पिखुवा कृषि फार्मसम्म रु २० लाख बजेट र अर्को खण्ड प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु दुई करोड पाँच लाख लागतमा स्तरोउन्नति गरिने अध्यक्ष राईले बताउनुभयो ।
हिउँदमा धुलाम्मे र वर्षात्मा हिलाम्मे हुने सडकको स्तरोन्नति थालिएपछि स्थानीयवासी खुसी भएका छन् । सडक निर्माणको कामले उत्साह थपिएको स्थानीयवासी शेरबहादुर बानियाँले बताउनुभयो । सडकको स्तरोन्नतिपछि स्थानीयको जनजीवनमा सहजता हुने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्