‘रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा छ’

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले रचनात्मक पत्रकारिता काउन्सिलको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
आज काठमाडौँमा भएको ‘एसिया प्यासिफिक अप्टिमिस्टिक कन्फ्रेन्स’मा उहाँले अब नेपालीमा रचनात्मक पत्रकारिताको खाँचो रहेको भन्दै त्यसका लागि काउन्सिलका तर्फबाट सहयोगी भूमिका रहने बताउनुभयो ।
काउन्सिलले प्रदान गर्ने तालिम प्रशिक्षणमा पनि रचनात्मक पत्रकारिताका विषयवस्तु समेटिने अध्यक्ष बस्नेतले प्रतिबद्धता व्यक्त गर्नुभयो । “काउन्सिलले मिडिया हाउससँग सहकार्य गरेर यो विषय अघि बढाउनेछ, यसको निर्णय भइसकेको छ । यस्तै विश्वविद्यालयको पाठ्यक्रममा पनि यस्ता विषय समावेश गर्न आठ महिनाअघि नै सबै विश्वविद्यालयलाई पत्राचार गरिसकेको छौँँ”,उहाँले भन्नुभयो, “अहिले अनलाइन अभिमुखीकरण कार्यक्रममा समेत एउटा ‘सेसन’का रूपमा रचनात्मक पत्रकारिता समावेश गर्ने निर्णय भई कार्यान्वयनको चरणमा रहेको छ ।”
कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवती सापकोटाले सही, सत्यतथ्य सूचना सम्प्रेषण आवश्यक रहेको भन्दै त्यसका लागि पत्रकारितासँग सम्बन्धित विभिन्न पाठ्यसामग्री तयार गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमिद वागचनले सन्तुलित सामग्री सम्प्रेषणमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै मिडियाले प्रस्तुत गर्ने राम्रा सामग्रीले जनताको जीवनस्तर परिवर्तन भएको दृष्टान्त पेस गर्नुभयो ।
सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले रचनात्मक पत्रकारिताबारे पत्रकारबीच घनिभूत छलफल चलाउनुपर्ने र यसमा सञ्चारिका समूह सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्