भोजपुरका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै पुग्यो पाठ्यपुस्तक

भोजपुर । पछिल्लो समय नयाँ शैक्षिक सत्र सुरु हुँदा समेत समयमा विद्यालयमा पुस्तक नपुग्ने समस्या हटेको छ ।
पहाडी जिल्ला भोजपुरका दुर्गम क्षेत्रहरूमा रहेका विद्यालयहरूमा समेत शैक्षिक सत्र सुरु अगावै पुस्तकहरू पुग्न थालेपछि यो समस्या हटेको हो ।
भोजपुरमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । जिल्लामा शैक्षिक शत्र सुरु नहुँदै पाठ्यपुस्तक आएको २०५१ सालदेखि जिल्लामा पाठ्यपुस्तक ढुवानी गरेर विद्यालयहरूमा पुर्याउँदै आउनुभएका पाण्डे पुस्तक पसलका सञ्चालक मोहन पाण्डेले बताउनुभयो ।
बिगत जस्तो नभएर जनक शिक्षा सामाग्रीले समयमा नै पुस्तक छपाई गर्न थालेसँगै जिल्लाका विद्यालयहरूमा पनि पुस्तकको समस्या नदेखिएको सञ्चालक पाण्डेले बताउनुभयो ।

पुस्तक ढुवानीमा व्यवसायीहरूले समेत तदारुकता देखाएपछि भोजपुरमा समयमै पाठ्यपुस्तक पुगेको छ । नयाँ शैक्षिक सत्र वैशाख २ गतेदेखि सुरु हुने गर्दछ । जिल्ला सदरमुकाममा रहेका दुई वटा पुस्तक पसलहरूले जिल्लाबाट विद्यालयहरूमा पुस्तक ढुवानी गर्छन् भने पालिकाहरूमा पनि सिँधै पुस्तक ढुवानी भएर वितरण गर्ने गरिन्छ । जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका छन् ।
जिल्लामा समयमै पाठ्यपुस्तक पुगेपछि विद्यार्थी तथा शिक्षकहरूमा समेत उत्साह देखिने गरेको छ । शैक्षिक सत्र सुरु अगावै विद्यालयमा पुस्तक पुग्दा विद्यार्थीलाई मात्र होइन शिक्षकलाई समेत शिक्षण सिकाइमा सहजता हुने बिद्योदय माध्यामिक विद्यालयका शिक्षक खोमराज धमलाले बताउनुभयो । विगतमा विद्यालयहरूमा समयमा पुस्तक नआउँदा देखिने गरेको समस्या समेत हटेको उहाँले बताउनुभयो ।
जिल्लामा सदरमुकाममा रहेको पाण्डे पुस्तक पसल, आंकाक्षा स्टोर लगायतबाट पाठ्यपुस्तक बिक्री वितरण हुँदै आएको छ भने ग्रामीण क्षेत्रहरूमा रहेका पुस्तक पसलहरूले पनि विद्यालयमा पुस्तक ढुवानी गर्दै आइरहेका छन् ।
समयमा नै पुस्तक आएकाले समस्या नदेखिएको आंकाक्षा स्टोरका सञ्चालक गणेश शाक्यले बताउनुभयो । वैशाखदेखि शैक्षिक सत्र सुरु हुने भए पनि चैत महिना मै सबै पुस्तकहरू जिल्ला आइसकेको सञ्चालक शाक्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्