तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जवासीका घरघरमा निःशुल्क रुपमा सुरक्षित पानी आपूर्ति हुन्छ : मन्त्री यादव

वीरगञ्ज (पर्सा) । खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जवासीका घर घरमा पाइपमार्फत निःशुल्क रुपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताउनुभएको छ ।

आज वीरगञ्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान विषयका बिद्यार्थीहरुको ‘बिदाई कार्यक्रम २०८१’ मा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नु हुँदै मन्त्री यादवले जलवायु परिवर्तनका कारण चापकलहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एसियन विकास बैङ्कको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण चापकलाहरू सुक्न थालेको गम्भीर समस्यालाई समाधान गर्न एडिबीको सहकार्यमा रु तीन अर्बको लागतमा पानी आपूर्ति प्रणाली निर्माण भइरहेको छ । चाँडै यहाँका नागरिकका घरघरमा पाइपमार्फत स्वच्छ, शुद्ध र सुरक्षित पानी आपूर्ति हुन्छ ।”

यसैगरी, मन्त्री यादवले अबका दिनहरूमा सिङ्गो वीरगञ्ज नगरभर निःशुल्क खानेपानी वितरण गरिने प्रतिबद्धता समेत जनाउनुहुँदै अब चाँडै वीरगञ्जवासीले चापाकलको भर पर्नु नपर्ने र प्रत्येक नागरिकलाई पाइपमार्फत निःशुल्क र सुरक्षित पानी आपूर्ति गरिने बताउनुभयो । उहाँले ढल व्यवस्थापनका लागि रु डेढ अर्बको बजेट छुट्याइएको र वीरगञ्ज महानगरपालिकाका वडा नं.२०, ३०, ३१, नगवा लगायतका क्षेत्रमा योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो ।

यसअघि आफु वन तथा वातावरण मन्त्री भएका बेलामा पर्साको रामपुरमा चिडियाखाना निर्माणको काम अगाडि बढाइएको तथा स्वास्थ्य मन्त्री भएको समयमा नारायणी अस्पतालको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया सुरु गरेको जिकिर गर्नुभयो । 

उहाँले भन्नुभयो, “मैले वन मन्त्रालय सम्हाल्दा पर्साको रामपुरमा चिडियाखाना निर्माण गराए । स्वास्थ्यमन्त्री हुँदा नारायणी अस्पतालको स्तरोन्नति गराए । म जनताको सेवक हुँ । तपाईँहरूको सेवा गर्नु मेरो प्रमुख दायित्व हो ।”

मन्त्री यादवले ‘बिदाई कार्यक्रम २०८१’ मा सहभागी ओम नेशनल एकेडेमी विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी देशभरीमा नाम रोशन गर्नका लागि हार्दिक शुभकामना समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “म विश्वासका साथ भन्छु, भोलिका इञ्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै विद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोशन गर्नुहोला ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button