पोखरामा शनिबार देखि फेवा महोत्सव हुने, होटल अकुपेन्सी ६० प्रतिशत

पोखरा । पर्यटकीय नगरी पोखरामा भोलि (शनिबार) देखि २० औँ संस्करणको फेवा नव वर्ष महोत्सव २०८२ सुरु हुने भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा आगामी वैशाख १ गतेसम्म पोखरामा आयोजना हुने उक्त महोत्सवको तयारी पूरा भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
महोत्सवमा यसपटक भक्तपुरको बिस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने छ भने महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुती रहने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनु भयो । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने भएको उहाँले जनाउनु भयो ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले विश्वास व्यक्त गर्नुभयो । पोखराको खहरेचोकदेखि ड्यामसाइड बिचको सडकमा आयोजना गरिने महोत्सवमा प्रवेश निःशुल्क रहेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ । यसलाई वाराही हस्पिटालिटी ग्रुपले प्रायोजन गरेको छ ।
यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरूको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी सहितको र्याली निकालिने भएको छ ।
फेवा महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.ली, सह प्रायोजक वरुण वेभरेज लि.को पेप्सी, प्रायोजकहरूमा बन्दीपुर केबलकार लि. फोन पे, अन्नपूर्ण केबलकार लि, टोकला चिया रहेका छन् । इन्स्योरेन्स पार्टनरमा प्रभु इन्स्योरेन्स कम्पनी र प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, पोखरा महानगरपालिकाका रहनेछन् ।
प्रतिक्रिया राख्नुहोस्