बाख्रा पालनबाट मनग्य आम्दानी

गुल्मी । पछिल्लो समय रोजगारीको सिलसिलामा विदेश जाने युवाहरूको सङ्ख्या बढिरहेको छ । तर कतिपय युवाहरू मिलेर गाउँमै रोजगारीको वातावरण सिर्जना गरिरहेका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर–८ मा बाख्रा पालन गरेर मनग्य आम्दानी गर्दै आएका छन् ।
जिल्लाको मुसिकोट नगरपालिको घैयारमा कालिका पशुपालन तथा कृषि फार्म स्थापना गरेर ७ जना युवाहरू मिलेर बाख्रा पालन गर्नुभएको छ । सुरुमा ७ जनाको साझेदारी मिलेर सुरु गरेको बाख्रा पालनमा अहिले २ जनाले मात्र सञ्चालन गर्नुभएको छ ।
फर्म सुरु गरेको अहिले पाँच वर्ष पुगेको छ । सुरुमा व्यवसाय सञ्चालन गर्दा साथ दिने साझेदारीहरू अहिले बुटवल, जापान, लगायतका ठाउँमा गएको कालिका पशुपालन तथा कृषि फार्मका सञ्चालक खगराज खरालले बताउनुहुन्छ । तर उहाँहरू हाल सँगै नभएपनि साथ भने मिलेको उहाँको भनाई छ ।
सुरुमा डेड करोड लगानीबाट सुरु गरेको बाख्रा फार्ममा अहिले १६० वटा बाख्रा रहेका छन् । बाख्रा पालन व्यवसायबाट राम्रो आम्दानी हुने भएपनि यसमा धेरै खट्नु पर्ने खरालको भनाई छ ।
स्थानीय सरकारले सुरुमा २ वटा उन्नत जातको बोका दिएको, खोर निर्माणको लागि जस्तापाता सहयोग, फर्म सम्म आउन सडक निर्माण गरिदिएको हुँदा धेरै सहयोग मिलेको खरालले बताउनुभयो ।
अहिले फार्मबाट प्रत्यक्ष पाँच जनाले रोजगारी पाएका छन् । वनमा बाख्रा चराउन लैजाँदा चितुवाले बाख्रा मार्ने गरेको, काम गर्ने मान्छेको समस्या रहेको कालिका पशुपालन तथा कृषि फार्मका सञ्चालक कुल बहादुर पौडेलले बताउनुभयो ।
व्यवसाय सञ्चालन गर्दा लिएको ऋण अहिले तिरेर सकिएको छ । व्यावसायिक बाख्रा पालनबाट सन्तुष्ट रहेको पौडेलको भनाई छ ।
मुसिकोट नगरपालिकाले व्यावसायिक बाख्रा पालन गर्ने कृषकहरूलाई विभिन्न समयमा अनुदानका कार्यक्रमको माध्यमबाट सहयोग गरिएको नगरप्रमुख जीवलाल खरेल ‘जीवन’ले बताउनुभयो । गाउँमै केही गर्छु भन्ने युवाहरूको साथमा स्थानीय सरकार भएको खरेलको भनाइ छ ।
नगरपालिकाले रोजगारीको लागि विदेश जाने युवाहरूलाई यही टिकाइ राख्न युवा लक्षित कार्यक्रम समेत सञ्चालन गरेको छ ।
अहिले कालिका पशुपालन तथा कृषि फार्मबाट तम्घास, बुटवल, लगायतका शहरमा बोका बिक्री हुने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्