तामाङ समुदाय पौराणिक पर्व चैत्र पूर्णिमा ‘तेमाल जात्रा’ मनाउँदै
काठमाडौँ । तामाङ समुदायले चैत्र पूर्णिमाको अवसरमा मनाउने बौद्ध जात्रा आजबाट सुरु भएको छ ।
प्रत्येक वर्षको चैत्र पूर्णिमाको अवसरमा मनाइने यस पर्वलाई चैत्र पूर्णिमा जात्रा,तेमाल जात्रा, बौद्ध जात्रा, सिंगुन/खस्योर जात्रा भनेर पनि मनाउने गरिन्छ । विश्व सम्पदा सूचि बौद्ध स्तुपा स्थापनाको पौराणिक किंवदन्तीसँग जोडिएको विश्वासको आधारमा मनाइने यस पर्वमा तामाङहरू आफ्नो दिवङ्गत भएका आफन्तको आत्माको शान्तिको लागि बत्ती बाल्न विभिन्न क्षेत्रबाट बौद्धमा आइपुग्ने गर्दछन् ।

परापुर्वकालमा तामाङहरू डम्फु बजाउँदै दिवङ्गत भएका आफन्तहरूको सम्झनामा तेमालबाट बत्ती बाल्न बौद्ध आउने गरेको हुँदा यस जात्रालाई तेमाल जात्रा भनिएको तामाङ समुदायभित्र विश्वास रहेको पाइन्छ ।
जात्राको पहिलो दिन आज बौद्धमा भेला भएका तामाङहरू रातभर जाग्राम बसी दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूको सम्झनामा लामागुरुद्धारा पूजापाठ गरी बत्ती बाल्ने गर्दछन् । जात्राको अवसरमा विभिन्न क्षेत्रबाट आएका तामाङहरूबिच रातभर जाग्राम बसी मौलिक फापरे जुहारी गाउने पौराणिक प्रचलन रहेको छ ।

यस जात्राको दोस्रो दिन अर्थात् भोली सबेरै बालाजु बाइसधारामा पुगी नुहाएर शरीर चोख्याई स्वयम्भूमा पुगी पुनः दिवङ्गतहरूको सम्झनामा बत्ती बाली जात्राको समापन गर्ने गरिन्छ । स्वयम्भूमा पनि दिनभरीनै विभिन्न क्षेत्रबाट आएका तामाङ महिला र पुरुषको समूहबिच फापरे सेलो गाउने प्रचलन रहेको छ ।

मुख्यतया काठमाडौँ वरिपरिका जिल्लाहरूमा बसोबास रहेका तामाङहरू फापरे गीत गाउन र सुन्न पनि यस जात्रामा भेला हुने गर्दछन् । यस जात्रालाई विभिन्न कारणले छुट्टिएर वा बसाई सराई भएका आफन्तहरू भेटघाट हुने अवसरको रुपमा पनि लिने गरिएको छ ।

तर पछिल्लो समय विभिन्न कारणले यस जात्राको मौलिक विशेषता लोप हुने चुनौती रहेकोमा यस समुदायभित्र चिन्ता बढेको । सुरक्षाको कारण देखाई रातभरि जात्रा हुने क्षेत्रमा निश्चित समयको पाबन्दी लगाउँदा पनि जात्राको मौलिकता लोप हुने प्रक्रियामा रहेको सरोकारवालाहरूको गुनासो रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्