तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा आवासीय घर बीमा कार्यक्रम सुरु

बाँके। नेपालगञ्ज उपमहानगरपालिकाले विपद्को समयमा आफ्ना नागरिकलाई आर्थिक राहत प्रदान गर्ने उद्देश्यले एक महत्त्वपूर्ण कदम चालेको छ। उपमहानगरपालिकाले पहिलो चरणमा दुईवटा वडा, वडा नम्बर ३ र ७ मा आवासीय घर बीमा कार्यक्रम सुरु गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आज एक समारोहका बीच वडा नम्बर ३ र ७ का आवासीय बीमितहरूलाई बीमाको प्रमाणपत्र हस्तान्तरण गरी यस कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख विष्टले बीमालाई विपद्को सामना गर्ने एक शक्तिशाली औजारको रूपमा व्याख्या गर्नुभयो। उहाँले आवासीय घर बीमा कार्यक्रमले विपद्को उच्च जोखिममा रहेका परिवारहरूलाई आर्थिक रूपले बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। विपद् आइपरेपछि पनि परिवारले थप पीडा भोग्न नपरोस् भन्ने उद्देश्यले न्यून आय भएका परिवारलाई लक्षित गरी यो कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो।

विपद् जोखिम न्यूनीकरणका लागि थालिएको यस आवासीय बीमा कार्यक्रम अन्तर्गत पहिलो चरणमा दुई वडाका १५१ घरधुरी समेटिएका छन्। जसमध्ये नेपालगञ्ज वडा नम्बर ३ का १०९ र वडा नम्बर ७ का ४२ घर रहेका छन्। उपमहानगरपालिकाले विपद् जोखिम सम्बन्धी कार्यविधि २०८० निर्माण गरी विपद् पछिको क्षति कम गर्न आवासीय घर बीमा प्रभावकारी हुने जनाएको छ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले विपद् दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रका वडामा आवास बीमा कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको जानकारी दिनुभयो।

नेपालगञ्जको वडा नम्बर ३ र ७ मा करिब ७५० घरहरू रहेका छन्। आवासीय घर बीमाका लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँसम्मको बीमा गरिदिने भएको छ। १५ लाखसम्मको घरको बीमा गर्दा लाग्ने प्रिमियम उपमहानगरपालिकाले नै तिरिदिनेछ भने १५ लाखभन्दा माथिको बीमा गर्नेले स्वयंले प्रिमियम तिर्नुपर्ने व्यवस्था गरिएको संयोजक सिंहले बताउनुभयो। १५ लाखको बीमा गर्दा वार्षिक ५८४ रुपैयाँ प्रिमियम लाग्ने र यसका लागि राष्ट्रिय बीमा कम्पनीसँग सहकार्य गरिएको छ।

राष्ट्रिय बीमा कम्पनी नेपालगञ्जका प्रबन्धक नवीन शर्मा पौडेलले बीमा भएका घरमा घरधनीको मृत्यु, घाइते वा घरमा क्षति पुगेको अवस्थामा अलग–अलग बीमा दाबी गर्न सकिने जानकारी दिनुभयो।

आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले नेपालगञ्जका वडा नम्बर ३ र ७ मा आवासीय घरको घनत्व बढी भएको जानकारी दिँदै ती क्षेत्रमा साँघुरो बाटो, पुरानो बस्ती र जीर्ण घरहरू रहेकाले यी स्थानबाट आवासीय घर बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको स्पष्ट पार्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button