तपाईँ सुन्दै हुनुहुन्छः

ऐतिहासिक गंगासागरको डिमा शालिक निर्माणको स्थानीयद्वारा विरोध 

जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको गंगासागर पोखरीको पूर्वतर्फको डिलमा स्वर्गीय रामनारायण मिश्रको शालिक निर्माणको स्थानीयवासीले विरोध गरेका छन् । 

स्थानीयले गंगासागर पोखरीको डिल धार्मिक र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै संवेदनशील र महत्वपूर्ण स्थल रहेको र यसमा कुनै प्रकारको संरचना निर्माण गर्नु उपयुक्त नहुने बताउँदै निर्माणको सुरुवातमा नै विरोध गरेका छन् । 

नेकपा एमालेका नेता शिवशङ्कर साह स्वर्गीय नेता रामनारायण मिश्रको शालिक निर्माणको विपक्षमा आफू नभए पनि गंगासागर पोखरी धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण स्थान भएकाले यस ठाउँमा बनाउन नहुने बताउनु भयो । उहाँले यस ठाउँमा कुनै प्रकारको संरचना निर्माण गर्नु उपयुक्त नहुने हाम्रो मान्यता रहेको बताउँदै यस पोखरीको १ सय मिटर दूरीमा रहेको गुठी जग्गामा शालिक निर्माण गर्न अनुरोध गर्नु भयो । 

एमालेका नेता हिराले धार्मिक र ऐतिहासिक स्थलहरूको संरक्षण र संवर्धनमा सबैले पक्षले ध्यान दिन जरुरी रहेका बताउनु भयो । स्थानीय समुदाय र सरोकारवाला पक्षहरूले आपसी समन्वय र समझदारीका आधारमा समाधान खोज्नुपर्नेमा जोड पनि दिइएको छ । 

स्वर्गीय रामनारायण मिश्र विक्रम सम्बत २०१५ सालमा भएको प्रजातान्त्रिक निर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाबाट निर्वाचित सांसद तथा बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारमा उद्योग मन्त्री हुनु भएको थियो । उहाँका पालामा जनकपुरधामको जनकपुर चुरोट कारखाना, विरगञ्ज चीनी कारखाना, कृषि औजार कारखाना, बासवारी छाला उद्योग कारखाना सहितका दर्जनौँ उद्योगहरू स्थापना भएका थिए । 

२०१७ साल पुस १ गते राजा महेन्द्रले बहुदलीय संसदीय व्यवस्था खोसेर मिश्रलाई लामो समयसम्म जेलमा राखेका थिए । जेलमा बिरामी परेका मिश्रलाई रोगले ग्रसित भएपछि छाडिएको थियो । प्रजातन्त्र पुनर्स्थापना तथा सुधारका लागि अनवरत सङ्घर्ष गर्ने मिश्रको २०२७ साल पुस ६ गते निधन भएको थियो ।

स्थानीयवासी र विभिन्न सरोकारवाला पक्षहरूले गंगासागर पोखरीको ऐतिहासिकता र धार्मिक महत्वलाई जोगाउनका लागि एकमत भएर काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । सालिक निर्माणको उद्देश्य सम्मानजनक भए पनि स्थानको चयन र संरचना निर्माणका विषयमा गहिरो विचार र समन्वयको आवश्यकता रहेको स्थानीयहरूको विचार रहेको छ । सालिक निर्माणमा स्थानीयवासी उत्रेपछि हालका लागि निर्माण कार्य रोकिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button