जलवायु परिवर्तनको असर कम गर्न रैथाने वनस्पति र जीवजन्तुको संरक्षण गर्न जरुरी: मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जलवायु परिवर्तनको असर कम गर्न रैथाने वनस्पति र जीवजन्तुको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
हुलाक सेवा विभागले नयाँ हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गर्न आज काठमाडौँमा गरेको कार्यक्रममा मन्त्री गुरुङले पारिस्थितिक सन्तुलन बचाई राख्न रैथाने जातका वनस्पति जीवजन्तुको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
मन्त्री गुरुङले जलवायु परिवर्तनका कारण मिचाहा जातका जीव तथा वनस्पतिको सङ्ख्या बढ्दै जाने र रैथाने जीव तथा वनस्पतिहरू लोप हुने खतरा बढेको बताउनुभयो ।
मन्त्री गुरुङले नेपालमा पाईने रैथाने वनस्पति र जीव जनावरहरूको संरक्षणमा विश्व समुदायको ध्यान आकर्षण गर्न त्यस्ता जीव तथा वनस्पति अंकित हुलाक टिकटहरू प्रकाशन गर्दै आएको पनि बताउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले ऐतिहासिक वस्तुहरूको संरक्षण र प्रचारप्रसारका लागि हुलाक टिकट महत्वपूर्ण माध्यम हुने बताउनुभयो ।
हुलाक सेवा विभागले नेपालका विभिन्न ४ वटा स्थानीय रैथाने वनस्पति तथा सिन्धुलीगढीमा अङ्ग्रेजसँगको युद्धमा नेपाली सेनाको नेतृत्व गरेका वंश गुरुङको तस्वीर अंकित हुलाक टिकटहरूमा आज प्रथम दिवसीय टाँचा लगाएको हो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय फिलाटेलिक प्रदर्शनीहरूमा नेपालको तर्फबाट प्रतिनिधित्व गरी पदक जित्ने ऋषिकुमार तल्स्याङ् र डा अशोक राणालाई सम्मान समेत गर्नुभयो ।
आज सम्मानित हुनुहुने ऋषिकुमार तल्स्याङ्ले थाइल्याण्डको बैंककमा आयोजित प्रदर्शनीमा बृहत् स्वर्ण पदक प्राप्त गर्नुभएको थियो भने डा अशोक राणाले चीनमा आयोजित प्रदर्शनीमा स्वर्णपदक प्राप्त गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्