तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङका कारण पोल्ट्री फर्ममा आगलागी: २० लाख बढीको क्षति

बीरगंज। बारा जिल्लाको बारागढी गाउँपालिका बाडा नम्बर–४, सुखी टोलस्थित विश्वकर्मा पोल्ट्री फर्ममा गएराति परेको चट्याङका कारण भीषण आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

पोल्ट्री फर्मका सञ्चालक हरेन्द्र विश्वकर्माका अनुसार चट्याङ लागेर बिद्युत् तार सर्ट भई आगलागी हुँदा फर्ममा रहेको संरचना, सामग्री र २ हजार भन्दा बढी तयारी अवस्थामा पुगेका कुखुरा जलेर नष्ट भएका छन् । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति भएको बारा प्रहरीले जनाएको छ । 

त्यसैगरी, बारा कै करैयामाई गाउँपालिका बाडा नम्बर–८ नरहीदेखि ईटहर जाने सडकखण्डमा पर्ने अभिनाष कुशवाहाको मकै खेतमा आज बिहान ३ बजे चट्याङ पर्दा खेत नजिकै रहेको कृषि मिटर, पानी तान्ने मोटर, टहरा र अन्य महत्त्वपूर्ण कृषि सामग्रीमा आगलागी भएर पूर्ण रूपमा नष्ट भएको बारा प्रहरीले जनाएको छ । 

स्थानीय प्रशासनले लगातारको वर्षासँगै चट्याङ पर्ने क्रम बढेको हुँदा बारा र आसपासका क्षेत्रका किसान तथा स्थानीयहरूलाई उच्च सतर्क रहन आग्रह समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button