तपाईँ सुन्दै हुनुहुन्छः

हावाहुरीका कारण ३३ केभिए लाइनमा समस्या, नेपालगञ्जमा बिधुत सेवा अवरुद्ध

बाँके । गए राति आएको हावाहुरीका कारण ३३ केभिए लाइनमा समस्या देखिएको र विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण कैयौँ स्थानमा बिजुलीका पोलहरू ढलेको र दर्जनौँ स्थानमा तारहरू चुँडिएका कारण नेपालगन्ज सहित केही स्थानमा विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख ई।जगन्नाथ लामिछानेले भन्नुभयो,“गए राति दश बजेको समयमा नेपालगन्जमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा बिजुलीका पोल ढलेका छन्, दर्जनौँ तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ र ३३ केभिए लाइनमा समस्या देखिएको छ ।” 

“ नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटै सर्किटको लाइन बन्द रहेको छ ।” उहाँले भन्नुभयो, “३३ केभिए लाइनमा समस्या देखिएकोले मर्मत भइरहेको छ उक्त लाइनमा देखिएको समस्या समाधान हुने बित्तिकै लाइन प्रसारण गर्ने छौँ ।”

हावाहुरीका कारण गए राति देखि ४ वटै सर्किटबाट प्रसारण हुने लाइन बन्द हुँदा नेपालगन्ज, डुडुवा, राप्ती सोनारी र नरैनापुरका स्थानहरूमा बत्ती नहुँदा समस्या देखिएको छ । बत्ती नभए पछि नरैनापुरमा सञ्चार सेवा समेत बन्द भएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जानकारी दिनु भयो । यता नेपालगञ्जमा खानेपानी संस्थानले वितरण गर्ने खानेपानी नआउँदा स्थानीय समस्यामा परेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button