लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको तयारी पुरा

बाँके । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता वैशाख ५ देखि १२ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा भारतका दुईसहित आठ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
आज नेपालगंजमा अन्तरालले आयोजना गरेको पत्रकार सम्मेलनमा फुटबल संघका गोवर्धनसिंह सम्झनाले महिला फुटबलको क्रेज बढेको बताउँदै नेपालगंजमा आयोजना हुन लागेको खेलमा उत्साह थप्न जरुरी रहेको बताउनुभयो ।
नेपालगन्ज रङ्गशालामा आयोजना हुने प्रतियोगितामा सुदूरपश्चिम र कर्णाली प्रदेशसँगै नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबको टिम समेत सहभागी हुनेछ ।
आयोजक अन्तरालका प्रमुख जयनारायण शाहले भन्नुभयो,“प्रतियोगितामा सहभागी हुन धेरै क्लबले चासो दिएका थिए । ए डिभिजनका क्लबलाई मात्र सहभागी गराउने योजना भएकाले आठ वटा छनोटमा परेका छन् ।” तेस्रो मुलुकबाट पनि खेलाडीहरूलाई सहभागी गराउने गरी एन्फाको टिमसँग संवाद भइरहेको उहाँले जानकारी दिनुभयो ।
खेलका मिडिया संयोजक निरज गौतमले प्रतियोगिता आयोजना गर्न एक करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको बताउनुभयो ।
खेलमा प्रथम हुने समूहलाई ५ लाख र दोस्रो हुने समूहलाई २ लाख राशिको पुरस्कार राखिएको छ ।
पत्रकार सम्मेलनमा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति नेपालका कार्यालय प्रमुख महेश चन्द, मिडिया संयोजक गौतम, सचिवालय प्रमुख रमेश मल्ल, समन्वय तथा परिचालन उपसमितिका संयोजक तेजविक्रम शाह, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले प्रतियोगितालाई ऐतिहासिक बनाउने लक्ष्यसहित काम गर्न शुभ कामना दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्