तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेटको उपाधिका लागि दाङ र रुपन्देही भिड्ने

घोराही । दाङमा जारी लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को उपाधिका लागि दाङ र रुपन्देहीको टिम भिड्ने भएका छन् ।

लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजना तथा दाङ जिल्ला क्रिकेट सङ्घको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा जारी प्रतियोगिता अन्तरगत बुधबार सेमिफाइनलका खेल सकिएसँगै फाइनल खेल्ने दुई टोलीको टुङ्गो लागेको हो ।

सेमिफाइनलका खेल अन्तरगत घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा भएको खेलमा कपिलवस्तुलाई ६ विकेटले हराउँदै दाङले फाइनल यात्रा तय गरेको छ । कपिलवस्तुले दिएको ९२ रनको सामान्य लक्ष्य पछ्याएको दाङले उक्त लक्ष्य १७ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो । दाङका लागि कप्तान सुशान्तसिंह थापा र दिनेश बोहराले २९ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे ।

सुशान्तले २४ बलमा ४ चौकासहित २१ रन बनाएर शिव कुँवरको बलमा आकाश त्रिपाठीको हातबाट क्याच आउट भए । दिनेश बोहराले १० बलमा २ चौकासहित ९ रन जोडेर कपिलवस्तुका कप्तान आकाश त्रिपाठीको बलमा एलबीडब्लू आउट भए ।

शिशिर डिसी २५ बलमा १ छक्का र १ चौकासहित २० रनमा अविजित रहँदा हेमराज सापकोटाले १८ बलमा १० रनको योगदान दिए । मनोज पुन २८ बलमा २ चौकासहित २० रन बनाएर आउट हुँदा तुलबहादुर थापाले अविजित ५ रन जोड्दै जीत दिलाए ।

कपिलवस्तुका शिव कुवरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट हात पार्दा आकाश त्रिपाठी र रौनक श्रीवास्तवले १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कपिलवस्तुले १८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो । पाँच दशमलव ४ ओभरमा २४ रन बनाउँदा पहिलो विकेट गुमाएको कपिलवस्तुका मध्य क्रमका ब्याटर सम्हालिन नसक्दा ९१ रन बनाउँदा अलआउट भयो ।

कपिलवस्तुका लागि महेश भारले ७ बलमा ३ चौकासहित अविजित १५ रन जोडे । यस्तै,  आकाश त्रिपाठीले १३ बलमा १४ रन, अनुजकुमार तेलीले ११ बलमा १३ रन, सहबाज अलीले १८ बलमा १२ रन, रम्जान अलीले २४ बलमा ११ रन, शिव कुवरले १६ बलमा १० रन बनाए ।

बलिङमा दाङका तुलबहादुर थापाले मध्य क्रमका ब्याटरलाई धरासयी पारे । उनले ३ दशमलव ३ ओभरमा १३ रन खर्चेर ४ विकेट हात पारे । दिनेश बोहराले ४ ओभरमा १ मेडनसहित १७ रन दिएर ३ विकेट लिँदा शुभम खनालले ४ ओभरमा १ मेडनसहित १३ रन दिएर २ विकेट लिए ।  दाङलाई फाइनलमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका तुलबहादुर थापा प्लेयर अफ द म्याच भए ।

यसैगरी, बुधबार भएको अर्को सेमिफाइनलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देही फाइनल प्रवेश गरेको छ । लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा बर्दियालाई ७ विकेटले हराउँदै रुपन्देहीले फाइनल यात्रा तय गरेको हो ।

बर्दियाले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको रुपन्देहीले उक्त लक्ष्य ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै फाइनलमा पुगेको हो ।

रुपन्देहीका लागि कप्तान देव खनाल र मृणाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको ओपनिङ साझेदारी गर्दै जीतको आधार तय गरे । देव खनालले १२ बलमा १ छक्का र ३ चौकासहित २१ रन बनाएर सनम बुढाको बलमा एलबीडब्लू आउट भए ।

मृणालले २३ बलमा ५ चौकासहित २५ रन जोडेर सनम बुढाकै  बलमा एलबीडब्लू आउट भए । प्रज्वल थापा पनि ७ बलमा ६ रन जोड्दै सनम बुढाको बलमा निखिल खत्रीको हातबाट क्याच आउट भए । मनिष थापा १० रन र सुमन पाण्डे ८ रनमा अविजित रहँदै ६६ बल अगावै जीत दिलाए । बलिङमा बर्दियाका लागि सनम बुढाले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बर्दियाले राम्रो शुरुवात गर्न सकेन । पहिलो बलमा रुपन्देहीका सन्देश थापाले असिम गिरीलाई बोल्ड गर्दै पेभेलियनको दिशा देखाउँदा अरू ब्याटर पनि सस्तैमा समेटिए । आठौँ विकेटका लागि २९ रनको साझेदारी बन्दा बर्दियाका निर्मल गुरुङले पारी उकास्ने कोशिस गरे । उनले २२ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाउँदा अरू खेलाडीले साथ दिन सकेनन् ।

निखिल खत्रीले २७ बलमा १२ रन, अभिशेष राठोरले ९ बलमा ७ रन बनाए । पाँचौँ ओभरमा १० रन जोड्दा चार विकेट गुमाएको बर्दिया थप ६६ रन बनाउँदा अलआउट भयो ।

बर्दियाको पारी धरासयी पार्न कृष्ण कार्कीले उत्कृष्ट बलिङ गरे । उनले ३ दशमलव ४ ओभरमा १ मेडनसहित जम्मा ७ रन खर्चेर पाँच विकेट हात पारे । सन्देश थापाले ३ ओभरमा ८ रन दिएर २ विकेट लिँदा अजय चौहानले पनि २ ओभरमा ४ रन दिएर २ विकेट लिए । फाइनल यात्राका लागि जीत सम्भव बनाउन महत्वपूर्ण योगदान दिएका रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए  । 

प्रतियोगिताको फाइनल खेलमा रुपन्देहीले दाङको सामना गर्नेछ । दुई टिम बीचको फाइनल खेल लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहीबार बिहान ९ बजेपछि हुने प्रतियोगिता संयोजक तथा लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले जानकारी दिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button