तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा राष्ट्रिय खुल्ला एथ्लेटिक्स प्रतियोगिता :साउथ एसियन च्याम्पियनसिप छनौटको मान्यता हुने

पोखरा । पोखरामा राष्ट्रिय खुल्ला एथ्लेटिक्स प्रतियोगिता यही चैत २९ गते देखि हुने भएको छ । जिल्ला एथ्लेटिक्स संघ कास्कीको आयोजनामा पहिलो पटक पोखरामा हुने उक्त प्रतियोगितामा ७ प्रदेश सहित ३ विभागीय टीमका खेलाडीहरूको सहभागिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

प्रतियोगितामा महिला र पुरुष गरी २ सय ४० जना सहभागी हुने भएको संघ कास्कीका अध्यक्ष गज बहादुर गुरुङले बताउनु भयो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ भने प्रतियोगितामा देशभरका विभागीय टिमहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, लुम्बिनी, कर्णाली, कोशी प्रदेशलगायत देशभरकै निर्णायक, प्रशिक्षक, संघीय तथा प्रदेश एथलेटिक्स संघका प्रतिनिधि, प्राविधिक टिम लगायतको सहभागिता हुने भएको उहाँले जनाउनु भयो ।

प्रतियोगितामा विभिन्न ट्रयाक एण्ड फिल्डतर्फ १२ विद्यामा प्रतिस्पर्धा हुने भएको संघका सचिव सिद्धान्त अधिकारीले बताउनु भयो । पुरुष र महिला दुवै इभेन्टतर्फ १०० मिटर, २ सय मिटर, ४ सय मिटर, १५ सय मिटर र ५ हजार मिटर, ४ गुणा १०० रिले दौड तथा फिल्डतर्फ लङ जम्प, ट्रिपल जम्प, सटपुट, डिस्क थ्रो, जम्पथल र जाभलिनतर्फका प्रतिस्पर्धा हुनेछन् । प्रतियोगितामा विजेताहरूले नगद ५, ३ र २ हजारका साथमा मेडल तथा ट्रफी पाउने छन् ।

उत्कृष्ट एक महिला तथा एक पुरुष खेलाडीलाई नगद जनही १०/१० हजार प्रदान गरिने सङ्घले जनाएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा नेपाल एथलेटिक्स सङ्घको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका खेलाडीहरू समेत सहभागी हुने भएका छन्। प्रतियोगितामा खेलाडी उत्पादन हेतु कास्की जिल्लाका विद्यालयस्तरको (१२ देखि १६ वर्ष मुनीको) १०० मिटर दौड समेत समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब १० लाख खर्च हुने आयोजकले जनाएको छ ।

यसैबिच, उक्त प्रतियागयतालाई साउथ एसियन च्याम्पियनसिप छनौटको मान्यता दिने भएको छ । यही चैत ३० गतेसम्म पोखरा आयोजना हुने प्रतियोगितालाई भारतको राँचीमा आयोजना हुने ‘साउथ एसियन च्याम्पियनसिप’का लागि समेत छनौट खेलका रुपमा मान्यता पाएको अध्यक्ष गुरुङले बताउनु भयो । सङ्घले राष्ट्रिय खुल्ला एथ्लेटिक्स प्रतियोगिता पोखरामा पहिलो पटक गर्न पाउनु त्यसमा पनि साउथ एसियन च्याम्पियनसिप छनौटको मान्यता पाउनुले यस प्रतियोगितालाई निकै महत्वले हेरिएको सङ्घले जनाएको छ ।

‘साउथ एसियन च्याम्पियनसिप’का लागि मान्यता पाए सँगै पोखरामा करिब तीन वर्ष पछि हुन लागेको ‘पोखरा एथलेटिक्स मिट २०२५’ मा सहभागिता जनाउने खेलाडीहरूको सङ्ख्या समेत ह्वात्तै बढेको सचिव अधिकारीले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button