तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट पाणिनि तपोभूमि सम्मेलन उद्घाटन

अर्घाखाँची। प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीको पाणिनि गाउँपालिकामा आयोजित ऐतिहासिक पाणिनि तपोभूमि सम्मेलनको आज उद्घाटन गर्नुभएको छ ।

दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा संस्कृत भाषाका विद्वान्, धर्मगुरु, शोधकर्ता, नीति निर्मातालगायतको उपस्थिति रहेको छ । कार्यक्रम लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् तथा पाणिनि गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाको आयोजनामा भएको हो ।

विश्वको प्राचीन संस्कृत भाषाको व्याकरणको उत्पत्ति भएको ऐतिहासिक पुण्य र तपो भूमि पाणिनिलाई विश्वसामु चिनाउन ‘पाणिनि तपो भूमि सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली काँग्रेसका नेता द्वय डा चन्द्र भण्डारी र डा पुष्पा भुसाल, प्रदेशका उद्योग तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेलगायतको उपस्थिति रहेको छ ।

अर्घाखाँचीको पणेना (हालको पाणिनि गाउँपालिका) मा सिद्धेश्वर दह नजिकै पाणिनि ऋषिले २८ दिनसम्म कठोर तपस्या गर्नुभएको थियो । पहिले सागपात, पछि जल र अन्तमा वायु मात्र सेवन गरेर गरेको तपस्याले महादेव प्रसन्न भई ताण्डव नृत्यका क्रममा डमरुको तालमा १४ माहेश्वर सूत्रहरू प्रदान गरेको किंवदन्ती रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button