तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्वमा विश्वास गर्ने देश हो’

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाल बुद्धले सिकाएको शान्तिपूर्ण सहअस्तित्व अनन्तकालसम्म विश्वास गर्ने देश भएको उल्लेख गर्नुभएको छ । 

file photo

उज्बेकिस्तानमा भएको अन्तर व्यवस्थापिका सङ्घ (आइपियु) को १५०औँ सभाको ‘साइडलाइन’मा भएको असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो सम्मेलन, २०२५ मा ‘बान्डुङ भावनाको ७० वर्ष मनाउँदै: बान्डुङ सिद्धान्तहरूको संरक्षणमा संसद्हरूको भूमिका’ विषयमा आफ्नो मन्तव्य राख्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य, संसारभरका मुलुकहरूबिचको शान्तिपूर्ण सहअस्तित्वको पक्षधर र समर्थक राष्ट्र हो ।” 

उहाँले नेपालको संसद्ले उच्चतम संसदीय अभ्यासमार्फत नीति निर्माण र जनसरोकारका मुद्दाहरूको पैरवी गरिरहेको उल्लेख गर्दै असंलग्नता र शान्ति देशको संविधानमै व्यवस्था गरिएको बताउनुभएको सभामुखको सचिवालयले जनाएको छ । नेपाल आफैँ एक दशकको आन्तरिक द्वन्द्वबाट शान्तिपूर्ण विधिका माध्यमबाट बाहिर आएको मुलुक भएको सभामुख घिमिरेको भनाइ छ । 

उहाँले नेपाल बान्डुङ सिद्धान्तहरूप्रति दृढ प्रतिबद्धता व्यक्त गर्दै सबै देशहरूलाई अझ न्यायपूर्ण, शान्तिपूर्ण र समृद्ध विश्व निर्माण गर्न एकजुट हुन आह्वान गर्नुभयो । 

उहाँले बान्डुङ सम्मेलनले प्रारम्भ गरेको असंलग्न आन्दोलनको स्मरण गर्दै अधिकांश देशहरूको राजनीतिक स्वतन्त्रता, स्वाधीनता, औपनिवेशीकरणबाट मुक्ति र सार्वभौमिकताको प्राप्तिमा असंलग्न आन्दोलनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।  

असंलग्न आन्दोलनले उन्नत भविष्यका लागि विखण्डित नभई एकजुट हुन प्रेरित गरेको सभामुख घिमिरेको भनाइ छ । 

नेपाल हिमालय रहेका राष्ट्रहरूको पर्यावरणीय जोखिमप्रति सचेत रहेको बताउँदै उहाँले कुनै पनि देशमाथि यसको असर असमान रूपले नहोस् भन्ने हेतुका साथ सबै संसद्हरूलाई जलवायु न्यायलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button