पाणिनी तपोभूमि सम्मेलन उद्घाटन गर्न प्रधानमन्त्री अर्घाखाँची आउने
अर्घाखाँची । अर्घाखाँचीमा संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन राष्ट्रियस्तरको पाणिनी तपोभूमि सम्मेलन भोली (बुधबार) देखि सुरु हुँदैछ ।
पाणिनी गाउँपालिका वडा नम्बर १ र २ को सिमानामा पर्ने पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल मानिन्छ ।
सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने जानकारी दिनुभयो । २ दिनसम्म चल्ने कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।
लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद् र पाणिनी गाउँपालिकाको सहकार्यमा सम्मेलन हुन लागेको हो ।
संस्कृत व्याकरणका प्रतिपादक महर्षि पाणिनीले कठोर तपस्या गरी भगवान् शिवबाट व्याकरणका १४ सूत्र प्राप्त गरेको मानिने यस स्थलमा प्रचार–प्रसार, र संरचनागत विकास गर्नका लागि पाणिनी सम्मेलन गर्न लागिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्