राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटघाट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले आज शीतल निवासमा भेटघाट गरेको छ । सो समूहका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा गएको टोलीले फोटो पत्रकारहरूको योगदान, तस्बिर तथा समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिँदा हुने सुरक्षा चुनौतीलगायत विविध विषयमा राष्ट्रपति पौडेललाई अवगत गराएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले सीमित स्रोतसाधन र जोखिमबिच कार्यक्षेत्रमा खटिनुहुने फोटो पत्रकारमाथि हुने जोखिम न्यूनीकरण तथा सुरक्षा व्यवस्थाको प्रत्याभूतिका लागि राज्य तथा सम्बन्धित सञ्चार गृह जिम्मेवारी बोधका साथ सचेत र सजग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
एनएफपिजे नेपालका अध्यक्ष वन्तले फोटो पत्रकारहरूको सुरक्षा सुनिश्चितताका लागि जीवन बिमालगायत सुविधाहरू उपलब्ध गराइदिने व्यवस्थाका लागि पहल गरिदिन राष्ट्रपति पौडेलसमक्ष अनुरोध गर्नुभयो ।
राष्ट्रपति पौडेलले फोटो पत्रकारहरूको मागलाई गम्भीरतासाथ लिनुभएको र सो प्रयोजनका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको एनएफपिजेका महासचिव घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
सोही अवसरमा एनएफपिजे नेपालको २८औँ वार्षिकोत्सवका अवसरमा आगामी वैशाख १३ गते हुने राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार–२०२५ विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी भइदिन राष्ट्रपतिसमक्ष निमन्त्रणा पत्र हस्तान्तरण गरेको अध्यक्ष वन्तले जानकारी दिनुभयो ।
त्यस अवसरमा एनएफपिजे नेपालका वरिष्ठ उपाध्यक्ष लेखबहादुर श्रेष्ठ (सागर), उपाध्यक्ष सुनिल शर्मा, महिला उपाध्यक्ष चन्द्रकला क्षेत्री (भगवती), महासचिव घनश्याम श्रेष्ठ, सचिव प्रविन कुलुङ राई, कोषाध्यक्ष प्रदीपकुमार श्रेष्ठ लगायत केन्द्रीय सदस्यहरूको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्