मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : सुदूरपश्चिम गण्डकी प्रदेशबाट पराजित
भोजपुर । भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई लगातार तीन सेटले पछाडि पार्दै गण्डकी प्रदेश सेमिफाइनल प्रवेश गरेको छ ।

लगातार गण्डकीले २५–१८, २५–२० र २५–१६ को सेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको हो ।
आजै भएको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ३–१ सेटले गण्डकी प्रदेशले नै पराजित गरेको थियो । खेलको पहिलो, दोस्रो र चौथो सेटमा लुम्बिनीलाई २५–२०, २५–१८ र २५–२१ अङ्कले गण्डकी प्रदेशले पराजित गरेको हो । तेस्रो सेट भने २५–२३ ले गण्डकीलाई लुम्बिनी प्रदेशले जितेको थियो ।
लिक आधारमा सञ्चालित भएको खेल अन्तर्गत बुधवार हुने पहिलो सेमिफाइनल खेल गण्डकी र बागमती प्रदेशबीच हुने छ भने दोस्रो कोशी र सुदूरपश्चिमबिच हुने आयोजक भोजपुर जिल्ला भलिबल संघका उपाध्यक्ष बिष्णु भुजेलले जानकारी दिनुभयो ।
चैत २८ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि कोशी प्रदेश सरकारको कोशी प्रदेश खेलकुद विकास बोर्ड मार्फत रु २० लाख सहयोग गरेको छ ।
प्रतियोगितामा मधेस र कर्णाली बाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, दोस्रोले रु एक लाख ७५ हजार, तेस्रोले रु ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्ने आयोजक जिल्ला भलिबल संघका अध्यक्ष बिन्द्र कुमार तामाङले जानकारी दिनुभयो । पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई दश हजारका दरले पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया राख्नुहोस्