गणतन्त्र देशको वर्तमान र भविष्य हो: प्रधानमन्त्री ओली
जनकपुरधाम । प्रधानमन्त्री के पी शर्मा ओलीले राजनीतिक अधिकारलाई परिपूर्ण बनाउन जनताको जीवन स्तर माथि उकास्ने काममा सबै तहका सरकार लाग्न जरुरी रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले मधेश प्रदेश सभालाई आज सम्बोधन गर्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले सङ्घीयता जनताको ठूलो त्याग तथा बलिदानबाट प्राप्त भएकाले यसको रक्षाका लागि मधेश प्रदेशले अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले राजनीतिक अधिकारलाई परिपूर्ण बनाउनका लागि पूर्ण लोकतान्त्रिक अभ्यास मार्फत जनताको जीवन स्तर सुधार गर्ने गरि सुशासन तथा परिवर्तनको अनुभूति गराउन आवश्यक भएको बताउनुभयो । उहाँले गणतन्त्र देशको वर्तमान र भविष्य भएकाले गणतन्त्रको विपक्षमा राजतन्त्र हुनै नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले जनताको आर्थिक, सामाजिक तथा पारिवारि जीवनमा परिवर्तन गर्ने गरि काम नगरेको खण्डमा अहिलेको प्रणाली माथि जनताले प्रश्न गर्नु स्वभाविक भएकाले हामीहरुले आफ्नो आचरणमा सुधार गर्न आवश्यक भएको बताउनुभयो ।

उहाँले सुशासन र विकासले नै लोकतन्त्र बलियो बन्ने भएकाले कमिसन माग्ने तथा त्यसको आश गर्ने मनसायबाट हामी सबै माथि उठ्न आवश्यक भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशको समृद्धि र विकासका लागि सुनकोशी कमला मरिन डाई भर्सनको निर्माण गरेर जनताको खेत खेतमा सिँचाइ पुर्याउने पक्षमा सरकार रहेको बताउनुहुँदै आफू नै प्रधानमन्त्री भएको वेलामा हुलाकी राजमार्गलाई डब्बल लेनमा रूपान्तरण गरेर निर्माणमा गति दिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा आँप तथा माछाको उत्पादनमा अग्रणी प्रदेश भएपनि थप उत्पादन बढाउने सम्भावना रहेको बताउँदै उत्पादन बढाउने क्षेत्रमा लगानी बढाउने तर्फ ध्यान दिन आवश्यक भएको बताउनु भयो । उहाँले मधेश प्रदेशसँग जोडिएको छिमेकी राष्ट्र भारत रहेकाले बजारको कमी नभएकाले उत्पादनमा जोड दिन जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सामाजिक सुधारका लागि मधेश प्रदेशमा थप प्रयास गर्न जरुरी रहेको बताउँदै बालविवाह, बोक्सी जस्ता कु–संस्कार हटाउनका लागि प्रदेश सभाले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले गर्ने हरेक सकारात्मक कार्यमा संघ सरकारको पूर्ण साथ रहने बताउँदै सबै जना मिलेर समृद्धिको यात्रामा सँगसँगै अगाडी बढ्न जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधानको संशोधन उपयुक्त समयमा हुने बताउँदै यसका लागि समिति निर्माण गरेर गर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्