तपाईँ सुन्दै हुनुहुन्छः

विपन्न नागरिकको सहारा बन्दै स्वास्थ्य बिमा कार्यक्रम

बाजुरा । बाजुराका विपन्न नागरिकहरूका लागि स्वास्थ्य बिमा कार्यक्रम सहारा बनेको छ।

बिरामी पुर्जा काट्ने सम्मको रकम तिर्न र औषधी किन्न समेत नसक्ने स्थानीयको सङ्ख्या उल्लेख्य रहेको बाजुरामा स्वास्थ्य बिमा कार्यक्रम एक भरपर्दो सहारा बन्न थालेपछि विपन्न बिरामीलाई राहत मिलेको हो।

२०७४ चैत्र २८ गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको बाजुरामा बिमा सुविधा लिनेको सङ्ख्या ३८ हजार ८ सय ६४ रहेको स्वास्थ्य बिमा बोर्ड बाजुराका नाम दर्ता अधिकारी तारा रोकायाले जानकारी दिनुभयो ।

७० वर्ष कटेका, एचआइभी संक्रमित, रातो कार्ड सहितका अपाङ्गलाई निःशुल्क बिमा गर्ने गरिएको छ । भने ३ हजार ५ सय रुपैयाँ तिरेर ५ जनाको १ वर्ष सम्म १ लाख बराबरको उपचार सुविधा छ । ५ जनाको सङ्ख्यामा परिवार सदस्य थपिएको प्रति सदस्य ७ सय थप गरि बिमा गर्न पाउने सुविधा छ । 

नियमित चेक गराउने र औषधी किनेर खाने आर्थिक अवस्था नभएकाहरूलाई बिमा कार्यक्रमले ठुलो राहत मिलेको बडिमालिका नगरपालिका-५ का गिठे मिजारले बताउनुभयो । स्वास्थ्य बिमा सुविधाले सबैजसो विपन्नका लागि सहुलियत मिलेको छ । उपचार नगरी घरमै बस्नु पर्ने बाध्यता हटेको छ ।

बाजुरामा बिमा गराएका ३८ हजार ८ सय ६४ जना मध्ये सबैभन्दा बढी बडीमालिका नगरपालिकामा रहेका छन् । ९ हजार एक सय ९१ जना बडीमालिकाका नगरपालिकाका मात्रै रहेका स्वास्थ्य बिमा बोर्डले जनाएको छ।

अधिकांश विपन्न बिरामीले बिमा सुविधाकै रकम बापत जिल्ला बाहिरका अस्पतालबाट पनि लाख बराबरको उपचार सेवा लिएको अवस्था छ । आर्थिक भार नहुने, स्वास्थ्य चेकजाँचमा सहज हुने, पैसा तिर्न नपर्ने र तिरे पनि ३५ सय तिरेर वर्षभरि सानोतिनो सबै प्रकारको उपचारका लागि ढुक्क हुने हुँदा बिमाप्रतिको आकर्षण ह्वात्तै बढेको महिला स्वास्थ्य स्वयम सेविका रमिता केसि साउदले बताउनुभयो ।

बाजुराका स्थानीयले बाजुरा अस्पताल, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, अछामको बयालगडा अस्पताल र जिल्ला बाहिरका अन्य अस्पतालमा पनि बिमा सुविधा सहितको प्रमाण लिएर उपचार गराउने गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button