तपाईँ सुन्दै हुनुहुन्छः

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

गोदावरी (कैलाली)  । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउनुभएको छ । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको आज अत्तरियामा आयोजित १४औँ जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सचिव भट्टले राजतन्त्रको अन्त्य भइसकेकाले अब राजतन्त्र जिउँदो भएर आउन नसक्ने बताउनुभयो । 

उहाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरीको समीक्षा गरेर सुधार गर्न आवश्यक रहेको बताउनुभयो । 

सचिव भट्टले समस्याको समाधान संवाद र छलफलबाटै हुने उल्लेख गर्दै  इतिहासले यिनै उपायबाट समाधान निकालेको देखाएको बताउनुभयो । वर्तमान सरकारले विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाइ थियो । स्थानीय सरकारमार्फत पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै सचिव भट्टले १५ दिन लाग्ने काम एक दिनमै सकिने अवस्था आएको बताउनुभयो ।

फास्ट ट्रयाक जस्ता ठूला परियोजनाले गति लिइरहेको जिकिर गर्दै सचिव भट्टले पञ्चायतकालमा भएका विकास निर्माण र अहिले भएका कामको तथ्याङ्कका आधारमा समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button